मुख्यमन्त्री शंकर पोखरेलको टिप्पणी : तीन महिनाको मेहनत खेर गयो

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सहमतिका लागि गरिएको तीन महिनाको समय खेर गएको बताउनुभएको छ । सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेख्नुहुन्छ,‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो ।’

सहमतिका लागि कार्यदलका तर्फबाट पटक पटक छलफल गरेपनि ठोस निष्कर्ष निस्कन नसकेपछि उहाँले असन्तुष्टि जनाउनुभएको हो । अहिले बिहान पनि माधव नेपाल निवासमा विघटित कार्यदलका सदस्यहरु भेटघाटका लागि गएका थिए । तर माधव नेपालले सरकारलाई विश्वासका मत दिए पछि मात्र थप छलफल गर्न सकिने अडान दोहोर्‍याएपछि नेताहरु अब सहमति हुँदैन भन्ने पक्षमा पुगेका हुन । नेपालले कांग्रेस माओवादीको सत्तालाई डेढ वर्षको लागि सुनिश्चित गरेपछि मात्र एमालेमा फर्कने नफर्कने निर्णय गर्ने बताएका थिए । 

आजको स्थायी कमिटीको बैठकमा पनि माधव समुह सहभागि भएको छैन । समसामयिक राजनीतिक परिस्थितीको विष्लेषणका साथै भोलि देखि हुने केन्द्रीय कमिटीका बैठकका एजेण्डा तय गर्ने भनिएपनि माधव पक्ष सहमतिगर्ने पक्षमा नरहेको स्रोतको दाबी छ । यता प्रधानमन्त्री देउवाले भने एमालेभित्रको विवाद कायम रहेकै बेला हतार हतार आजै विश्वासको मत लिने तयारी गरेका छन् । ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागेको स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ४२ बजे