माधव पक्ष देउवालाई विश्वासको मत दिदै सरकारमा सहभागि हुने, बामदेव पनि मन्त्री हुने लाईनमा 

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिदै सरकारमा सहभागि हुने भएको छ। तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले देउवाले पार्टी फुटाउन माधवपक्षलाई सहज हुनेगरिको अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बताएको छ । 

सत्तारुढ गठबन्धन शीर्ष नेताबीचको छलफलमा माधव पक्षले सातवटा मन्त्रालय मागेको बुझिएको छ । केपी ओलीसँग सहमतिको बार्गेनिङ्ग गरिरहेका माधवपक्षले देउवा र प्रचण्डसँग मन्त्रालयको भागबण्डा गरिरहेको स्रोतको भनाई छ । मन्त्रीहुने लाईनमा पछिल्लो समय कुनैपनि गुटमा सहभागि नभएका एमाले उपाध्यक्ष बामदेव गौतमको पनि चर्चा छ । गौतमले उपप्रधानसँगै  मन्त्री हुने तयारी थालेको बुझिएको छ । गौतमसँगै बेदुराम भुसाल, विरोध खतिवडा, यज्ञराज सुनुवार, मेटमणी चौधरी, रामकुमारी झाँक्री लगायतका नेताहरु मन्त्रीका रुपमा देउवाको सहकारमा सहभागि हुँदैछन् । 

यता ओली पक्षले भने नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट पनि सहमतिको प्रयास गर्ने भनेको छ । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक आयोजना गरिएको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखेको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका नेताहरुले आज बिहान नेता माधव नेपाललाई भेटेर सहमतिका लागि प्रयास गर्ने बताएका छन् । नेपाललाई भेटेर १० बुँदेको कार्यन्यवनमा इमान्दार भइदिन, विपक्षीहरुसँगको भेटघाट कम गर्न, पार्टीका नेताहरुसँगको भेटघाट बढाउन र बैठकमा सहभागिता जनाउन आग्रह गरिने एक सदस्यले जानकारी दिए ।

आजको बैठकले समसामयिक राजनीतिक परिस्थितीको विष्लेषणका साथै भोलि देखि हुने केन्द्रीय कमिटीका बैठकका एजेण्डा तय गर्ने भनिएपनि माधव पक्ष सहमतिगर्ने पक्षमा नरहेको स्रोतको दाबी छ । यता प्रधानमन्त्री देउवाले भने एमालेभित्रको विवाद कायम रहेकै बेला हतार हतार आजै विश्वासको मत लिने तयारी गरेका छन् । ढिला गर्दा एमाले मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : २१ बजे