काँग्रेस संसदीय दलको बैठक आज संसद् भवन नयाँ बानेश्वरमा बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक साउन ३ गते दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि दलको पहिलो पटक बैठक बस्न लागेको हो ।  

सांसद डिला सङ्ग्रौलाले संसदीय दलको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको जानकारी दिनुभयो ।  बैठकमा समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो । 

विसं २०७४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलका रुपमा सदनमा भूमिका निर्वाह गर्दै आएको काँग्रेस गत साता सरकारको नेतृत्वमा पुगेपछि परिवर्तित परिस्थितिमा दल र सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने बताइएको छ । 

आज दिउँसो ४ बजे संसद् बैठक समेत बोलाइएको छ । यसअघि बिहान १० बजे संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ३९ बजे