साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

खलङगा । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । 

गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएका छौँ । पालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिकाभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् ।”

पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताउनुभयो । उहाँका अनुसार घरघरमा पुगेर ज्येष्ठ नागरिकको र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । भौगोलिक विकटता भएकाले पालिकाभित्र जम्मा पाँचवटा स्वास्थ्य चौकी मात्र रहेका छन् । महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । 

अहिले पालिकामा चारवटा आधारभूत स्वास्थ्य केन्द्र र तीनवटा स्वास्थ्य एकाइ स्थापना हुँदा खोपबाट वञ्चित हुनु नपरेको गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । 

“गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् । आगामी दिनमा पनि पालिकाका कुनै पनि बालबालिका खोपबाट वञ्चित हुने छैनन्”, बुढाले भन्नुभयो । उहाँले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताउनुभयो । 

खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईले बताउनुभयो । 

कोरोनाको महामारीका बेला समेत खोप रोकिएको छैन । यहाँको पातारासी गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 
 
यहाँका आठ स्थानीय तहमध्ये छ पालिका यसअघि नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयानुसार वडास्तरदेखि पालिका प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्रअनुसार यहाँका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।रासस

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ५० बजे