साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रचण्डको नयाँ सुराक : माधवकाे ढाँड टेकी एमाले सिद्ध्याउने र देउवालाई सत्तामै रिङ्ग्याउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’आफ्नै पार्टीमा राजनीतिक भविष्य नदेख्ने र अरूको पार्टीमा खेलिरहन रुचाइरहने पात्र हुन् ।

अघिल्लो निर्वाचनमा एमालेसँगको कार्यगत एकता गरेर आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेका प्रचण्ड अर्को निर्वाचनपछि आफ्नो भविष्य सुरक्षित नहुने निष्कर्षमा देखिन्छन् ।

एमालेसँगको कार्यगत एकताबाट लामो समय राजनीतिक दुनो नसोझिने देखेका दाहालले तत्काल एमालेसँग पार्टी एकता गरी ठुलो पार्टीको अध्यक्ष बन्ने सपना देखे ।

एकतामा दोस्रो अध्यक्ष पाएका दाहालले नेकपाको प्रथम अध्यक्ष बन्ने र पार्टी क्याप्चर हुने धेरै योजना बुने । अन्ततः झण्डैझण्डै नेकपा क्याप्चर गरिसकेका दाहाललाई अदालतले नाम  जुधेको भन्दै पुरानै दुई दल एमाले र माओवादी ब्युँताइदिएपछि पर्नुसम्मको पिर पर्‍यो ।

आफ्नो योजनालाई सफल बनाउनका लागि एमालेका वरिष्ठ नेता माधव नेपाललाई काखी च्यापेका दाहालले नेकपा क्याप्चर गर्न नसकेपछि आफू प्रथम अध्यक्ष र माधव नेपाललाई दोस्रो अध्यक्षको घोषणा गर्न भ्याउँदा नभ्याउँदै नेकपाको एकतालाई अदालतले बदर गरेसँगै बनाएको ग्राइन्ड डिजाइन धूलिसाथ भयो  ।

त्यसपछि भएको ठुलो पार्टीबाट लुरुक्क पुरानै सानो पार्टीको अध्यक्ष बन्न बाध्य भएका दाहालको पुरानै फर्मुला हो ‘ढाँडमा टेकेर टाउकोमा हान्ने ।’

एमालेलाई विभाजित गर्नका लागि माधव नेपालको ढाँडमा  टेकेर उनले नेकपा हुँदा खेरी देखिनै निरन्तर प्रथम अध्यक्ष ओली माथि प्रहार गरिनै रहे ।

जीवनमा एक पटक पनि सूर्य चिन्हमा भोट नहालेका दाहालले सडकमा सुर्यचिन्हको चकटी बनाएर निरन्तर उक्त चिन्हमाथि आफ्नो दाबी खोजिरहे । अन्ततः पराजित बनेका दाहाल यत्तिखेर फेरि हौसिएका छन् ।

कहिले एउटा दललाई  समात्ने र अर्कोलाई  दललाई हान्ने दाहाल पुरानो माओवादीमा कहिले मोहन वैद्य समातेर भट्टराई र कहिले भट्टराई समातेर मोहन वैद्यमाथि प्रहार गरिनै रहन्थे । पार्टी भित्र एकलाई प्रयोग गरी अरूलाई सिद्ध्याउने अध्यायबाट नेताहरूले फटाफट उक्त पार्टीबाट विद्रोह गरेपछि दाहाल त्यही पुरानौ फर्मुला प्रयोग गरी अन्य दलमाथि खेली यत्तिखेर आफ्नो राजनीतिक रोटी सेकाइरहेका छन् ।

दाहालले यस पटक काग्रेंसका सभापति देउवा र एमालेभित्रका माधव नेपाललाई समातेर जनताबाट अनुमोदित सरकारलाई हटाउन सकेका छन् ।

आफ्नै सरकारविरुद्ध निरन्तर विष वमन गर्न लगाई अध्यक्ष दाहालले एमालेका वरिष्ठ नेता माधव नेपाललाई राजनीतिक रूपमै पङ्गु बनाइदिएका छन् । दाहाल अझै पनि एमाले विभाजन गर्न नपाएकोमा भने खिन्न देखिन्छन् ।

जतिसुकै तिकडम र छलछाम गरे पनि दाहाल बेलाबेलामा आफ्ना अन्तर मनका ग्राण्ड डिजाइन बेलाबेलामा चुहाइरहन्छन् ।

जनमुक्ति सेनाको घोटाला काण्ड, पशुपति काण्ड,सर्वोच्चको सम्भावित फैसला र कम्फर्टएबल सरकार लगायतका डिजाइनहरू दाहालले आफैले चुहाएका सूचनाहरू हुन् ।

यत्तिखेर दाहालले आफ्नो प्लान ‘वि’को सुराक पनि आफै चुहाइसकेका छन् । ऋषि धमलाले हालसालै लिएको जनता जान्न चाहन्छन् कार्यक्रममा दाहालले यस्ता अनगिन्ती आफ्नै योजनाका सूचनाहरू चुहाइसकेका छन् । यसअघि नेकपा विभाजित हुँदा माधव नेपालहरू आफूसँगै बस्ने र गाली नगर्न भन्दै सूचना चुहाएका दाहालले यत्तिखेर भने माधव नेपाललाई एमालेमै पठाउने योजना बनाएको खुलासा गरेका छन् । अन्तर्वार्तामा दाहालले आफू एमाले अहिले विभाजित नहोस् भन्ने चाहेको भन्दै बरु माधव नेपाल एमालेको अध्यक्ष बनाउन चाहेको दाबी गरेका छन् । यसको अर्थ माधव नेपालमार्फत अझै एमाले भित्र खेल्ने दाउमा दाहाल रहेको स्पष्ट हुन्छ । धमलासँगको अन्तर्वार्ता मा प्रचण्डले राष्ट्रपति माथिसमेत निरन्तर प्रहार गर्ने खुलाएका छन् । संविधानले राष्ट्रपति माथि महाअभियोग लगाउन दुईतिहाई चाहिने जान्दा जान्दै र त्याे स‌भव नदेका हाल राष्ट्रपति माथि अझै विष वमन गरी रहेका छन् ।संविधान: मन्त्रीपरिषद्को निर्णयलाई सिफारिस गर्नुपर्ने राष्ट्रपतिको दायित्वलाई उनी जानाजान विवादित बनाएर विष वमन गर्दै छन् ।

उनले अन्तर्वार्ता राष्ट्रपतिलाई कुनै डिजाइन निकालेर राजीनामा गराउन चलखेल गर्ने सङ्केत दिएका छन् । उनले अन्तर्वार्तामा राष्ट्रपतिलाई सहज ढङ्गले काम गर्न नदिने धम्कीसमेत दिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन पाँच पार्टी मिल्दा समेत सामान्य बहुमत पुर्‍याउन नसकेका दाहालले दुई तिहाइ जुटाउने हावादारी गफ अन्तर्वार्ता दिएका छन् ।

माधव नेपाल छदा लगभग समाप्त हुन लागेको एमाले केपी ओलीको नेतृत्वमा विशाल भएको देख्न नसकेर उनले अन्तर्वार्तामा माधव नेपाललाई ठुलो महान् नेताको पगरी गुथाएका छन् । राजाको शासनकालमा देउवाले संसद् विघटन गर्दा दाम राखेर प्रधानमन्त्रीको लागि बिन्ती पत्र हाल्न जाने माधवलाई उनले क्रान्तिकारीको पगरी गुथाएका छन् । ६३ मा पहिलो पार्टी बनेको माओवादी त्यसपछिका निर्वाचनबाट निरन्तर ओरालो लाग्दै कोल्याप्स हुन लागेको बुझेका दाहालले यत्तिखेर हुन लागेको मध्यावधि निर्वाचनलाई रोक्न राजाको शासन कालमा संसद् विघटन गर्ने पात्रलाई उभ्याएर रोकेका छन् ।

उत्तिखेरै असक्षम प्रधानमन्त्रीको पगरी गुथाइएका देउवालाई प्रधानमन्त्री बनाई दाहाल काग्रेंसलाई थप कमजोर बनाउन चाहन्छन् ।

उनको बुझाइ भनेको देउवालाई सत्तामा पुराएर झन् कमजोर र अस्थिर बनाएपछि काग्रेंस थप कमजोर हुनेछ, त्यो समयसम्म माधव नेपाल लगायतका नेताहरूमार्फत एमालेमा खेल्ने र त्यहाँ कमजोर सके जति बनाउने भन्ने छ । अरू सबै पार्टीमा आगो झोसेपछि हुने निर्वाचनमा भने उनले आफ्नो भविष्य सुन्दर हुने देखेका छन् । यदि प्रचण्डले खेल्न लागेको प्लान ‘वि’ सफल हुँदै गयो भने उनले आफैले भनेजस्तो खसीको टाउको देखाएर कुकुरको मासु बेच्न उनी अझै सफल हुने छन् । यद्यपि एमालेको विशाल पङ्क्ति दाहालको डिजाइन बुझिसकेकाले उनको यो प्रयास ढुङ्गा फुटाउन हजारौँ अण्डाको प्रहार गरेजस्तै निरर्थक हुने देखिन्छ । उता नेपाली काग्रेंस भने दाहालको डिजाइन बेलैमा नबुझ्दा धेरै तल भासिसकेको हुनेछ । काग्रेंसलाई अहिले सत्तामा भुलाएर काग्रेंसलाई नै सिद्ध्याउने  प्रचण्डको प्लान ‘वि’ काग्रेंसले बेलैमा नबुझे काग्रेंसको राजनीतिक दुर्घटना रोक्न धेरै ढिला भइसकेको हुनेछ । यत्तिखेर भने सबै दलका नेताहरूलाई असक्षम बनाएर आफू उदाउने प्रचण्डको ग्राइन्ड डिजाइन जारी रहेकाले मुलुक थप अस्थिर चक्रव्यूहमा घुमिरहने भने निश्चित छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५८ बजे