सरकारका कानूनी सल्लाहकार बडालद्वारा राजीनामा

काठमाडौँ – सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।”

सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई उहाँले तीन महिना २१ दिन काम गर्नुभयो । सर्वोच्च अदालतले विपक्षी गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ३९ बजे