आदिकवि भानुभक्तको २०८औं जन्मजयन्ती मनाइँदै

काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। रामायणलाई नेपाली भाषामा लेखेका उनले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। 

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ । ‘बधुशिक्षा’ उहाँको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।
 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ४८ बजे