सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवाको नेतृत्वमा सरकार बनाउन साथ दिने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन साथ दिने निर्णय गरेको छ । आज साँझ कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो । संसद पुनःस्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईका अनुसार बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । नेता बालकृष्ण खाँणले सहमतिको सरकार बनाउन समेत प्रयास गर्ने बताएका छन् । नेता खाँडले माधवकुमार नेपाल पक्ष समेत सरकारमा सहभागी हुने बताए । उनले भने,‘आजको बैठकको आयोजक नै वरिष्ठ नेता माधवकुमार नेपाल नै हो ।’

माओवादी केन्द्रका नेता देव गुरुङले सरकारमा सहभागी हुने र पावर सेयरिङबारे छलफल सुरु भएको बताए । उनले भने,‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ ।’ सबै पक्षहरुलाई लिएर जानुपर्छ भन्नेमा नेताहरुको मत रहेको नेता गुरुङले बताए ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ३२ बजे