साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेको दोस्रो पुस्ता हिरो, कसैलाई ‘यता भीर उता पहिरो’

आफ्नो आन्तरिक जीवनमा गम्भिर सङ्कट बोकेर विभिन्न आरोह-अवरोहबाट गुज्रिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुःन एकपटक ऐतिहासिक सफलता प्राप्त गरेको छ । केही समयदेखि पार्टीभित्र एक-अर्कालाई निषेध गर्ने मनसाय र क्रियाकलापलाई पूर्णविराम लगाउदै एमाले एकता कार्यदल विधि,पद्धति, विरासत र वर्तमानलाई राम्ररी फ्युजन गर्दै दश बुँदे सहमति गर्न सफल भएको छ ।

साविक नेकपा हुँदादेखि नै पार्टी विधि र पद्धतिले चल्न नसकेको अवाज उठ्दै आएको थियो । एकातिर जनवादी-केन्द्रियताको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने सवालमा समस्या देखिएको थियो भने अर्कोतिर पार्टी एकताको नाउमा पार्टीका सबै अवयवहरू परिचालन हुन सकेका थिएनन् । बहुमतको निर्णयको न कार्यान्वयन हुने परिस्थिति बन्यो, न अल्पमतको सम्मान र कदर गर्ने नै । नेकपाको पूरा अवधि प्राविधिक एकता र भागबण्डाको भाँडभैलोबाट प्रभावित भइरह्यो भन्दा अत्युक्ति हुने छैन ।

त्यसले बरू पार्टीका शीर्ष नेतामा रहेको भावनात्मक एकतामा समेत गम्भिर नकारात्मक असर पुर्यायो । जस्तोसुकै विषम परिस्थितिमा पनि एमालेमा परिपालन हुदै आएका सर्वसम्मत र सुन्दर विधि, पद्धति र परम्परा ओझेलमा परे । पार्टीको आन्तरिक निर्वाचनमा घाँटीकटुवा प्रतिस्पर्धा गर्न समेत पछि नपर्ने तर परिणामलाई सहर्ष स्वीकार गरेर हाँसी-हाँसी गला मिलाएर अगाडि बढ्ने एमाले मूल्य-मान्यता झण्डै विस्मृतिमा गएको थियो ।

एमालेको समस्या समाधान कार्यदल नवौं महाधिवेशनले तय गरेका विचार,विधि-विधानकै पेरिफेरीमा एमालेलाई फर्काउन सहमत भएको छ । एमाले-माओवादी एकताले हल्लाएको यो जग पुनर्स्थापित भएको छ ।

सर्वविदितै छ,नेपाल कम्युनिष्ट पार्टी(एमाले) झापा विद्रोहबाट झाँगिएको भिमकाय पिपल हो । सयौं सहिदहरूको वलिदानको उपज हो । यो पार्टी जननेता मदन भण्डारीको अतुलनीय वैचारिक-सांगठानिक योगदानको उपज हो । प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको निष्कलङ्क एवम् अनुकरणीय छविको समीश्रण हो ।

पछिल्लो समय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादप्रति समेत एमालेभित्रैबाट सन्देहात्मक टिप्पणी हुदै आएको र मनमोहन अधिकारीले स्थापित गरेका सर्वदा अनुकरणीय मूल्य-मान्यतामा ह्रास आएको थियो । एमालेका दोश्रो पुस्ताका नेता सम्मिलित कार्यदलले एमालेलाई त्यही दिशातर्फ फर्कन सुझाएको छ ।

अहिले नेकपा(एमाले)मा जनयुद्धको ठूलो भङ्गालो समेत मिसिएको छ । रामबहादुर थापा 'बादल', टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाहजस्ता जनयुद्धको भट्टीमा खारिएका नेताहरुको पुञ्ज एमालेमा समाहित भएको छ । आफ्ना शीर्ष नेताहरू गुमाउनु पर्दाको पीडा सहन नसकेर माओवादी वृत्तबाट उनीहरूलाई 'घरको न घाटको भएको', 'राजनीतिक भविष्य समाप्त भएको'जस्ता टीकाटिप्पणी सुनिदै आएको थियो । एमालेको आन्तरिक एकतापछि उनीहरूको भूमिका गौण हुने विभिन्न आङ्कलन गरिदै थियो ।

तर एमालेको समस्या समाधान कार्यदलले कम्युनिष्ट आन्दोलनमा उनीहरूको योगदानलाई उच्च सम्मानमात्र गरेको छैन,उनीहरूको पदीय हैसियतलाई कायम गरेर राजनीतिक भविष्यको सुनिश्चित समेत गरिदिएको छ । त्यतिमात्र होइन, कम्युनिष्ट आन्दोलनमा योगदान गरेका नेता कार्यकर्तालाई पार्टीको केन्द्रिय कमिटी र मातहत कमिटीमा समेत १० प्रतिसत सङ्ख्या सुनिश्चित गरेको छ ।

नेकपा(एमाले)को अहिलेको प्रमुख अजेण्डा तृणमूल तहसम्म पार्टीलाई व्यवस्थित र चलायमान गर्नु हो । एकताको दुरह, सरकार सञ्चालन र अन्य कतिपय कारणले नेतृत्व पङ्क्तिमा देखिएको विग्रहका कारणले एमाले जीवन आक्रान्त छ । आउनै लागेको स्थानीय तहको निर्वाचन अगावै पार्टी परिवर्तनका आफ्ना अजेण्डासहित जनतामा पुग्नै पर्ने एमालेलाई वाध्यता छ । ने

ताहरू गाँड कोराकोर गरेर बस्ने तर जनतामाझ पार्टी पुर्याउन आनाकानी गर्ने हो भने पार्टीले ठूलो धक्का खानसक्ने खतरा विद्यमान छ । यही अवस्थालाई सम्बोधन गर्न कार्यदलले अविलम्ब पार्टीको विधान महाधिवेशनमा जाने र दशौं महाधिवेशनको लागि मार्ग प्रसस्त गर्ने निष्कर्ष निकालेको छ । विभिन्न तहका सम्मेलन अधिवेशनबाट पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने रोडम्याप तय गरेको छ ।

विगत लामो समयदेखि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई एमालेले संस्थागत सहयोग गर्न सकेको छैन । बरू विभिन्न समयमा विपक्षीभन्दा पर पुगेर आधारहीन आलोचना र विरोध हुने गरेको छ । आफ्नै पार्टीबाट निर्वाचित राष्ट्रपति, प्रधानमन्त्रीलाई खुएल्याउने प्रतिस्पर्धा नै चलेको छ । साथै सरकारका कामकारवाहीमा पार्टीका सबैसंग यथोचित परामर्श गर्ने, सबैको भावना समेट्ने काम पनि प्रभावकारी हुन सकेको छैन । सरकारले गरेका राम्रा र युगीन महत्वका कामलाई जनताका पुर्याउने र  पार्टीको पक्षमा जनमत निर्माण गर्ने काममा एमाले चुक्दै गएको छ ।

सत्तारूढ साविक नेकपा र हाल एमालेमा देखा परेको विवादका कारण विगठित संसदबारे सर्वोच्चको फैसला सन्निकट छ । एमाले एकताबद्ध हुँदा सर्वोच्चको जस्तो फैसला आए पनि एमालेको हातमा जितमात्र पर्नेछ । फेरि पनि सरकारको नेतृत्व गुमाउनु पर्ने छैन ।पार्टी एकताबद्ध हुन नसकेको खण्डमा जस्तो फैसला आए पनि हारमात्र हात लाग्नेछ । कार्यदलले यो अवस्थाको गहन रुपमा सम्बोधन गरेको छ । सर्वोच्चको जे फैसला आए पनि एकताबद्ध एमालेले संस्थागत निर्णय गर्ने सहमति गरेको छ । यसले सर्वोच्चको फैसलामार्फत् एमालेलाई डण्डा हान्न ठिक्क परेको शक्तिलाई झापड दिएको छ । देउबाको नेतृत्वको नक्कली गठबन्धन थप सङ्कटमा परेको छ ।

नेकपा(एमाले)को दोश्रो पुस्ताले पार्टीको अक्षुण एकता र अग्रगमनको सवालमा हस्तक्षेपकारी भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको थियो । दोश्रो पुस्ताका नेताहरू प्रथम पुस्ताका नेताहरूको ईसारामा चल्ने तर आफ्नो विवेकबाट चल्न नसकेको आलोचना खेप्दै आएका थिए । तर यो महाविवादलाई समाधान गर्न उनीहरूले अहिले खेलेको भूमिकालाई एमालेको आउँदो पिँढीले समेत मुक्त कण्ठले प्रशंसा गर्नेछ । साथै यति धेरै मेहनत गरेर बनाएको सहमति मान्न कार्यान्वयन गर्न हिच्किचाउने एमालेका जो कोहीको प्लेन छुट्ने छ । आगामी यात्रा अबरुद्ध हुनेछ ।

लामो अनवरत प्रयासबाट कार्यदलले निकालेको सहमति अविलम्ब कार्यान्वयन भएमा एमालेको नेतृत्वदायी भूमिकाले निःसन्देह निरन्तरता पाउनेछ । एमाले फुट्ला र आफ्नो राजनीतिको रोटी सेकुँला भन्दै गौंडा ढुकेर बसेकाहरू नीदहराम हुनेछन् । र,परिवर्तनकारी श्रमजिवी जनताको जित हुनेछ ।

कार्यदलको सहमतिलाई एमालेको सिङ्गो पङ्क्तिले स्वागत गरे पनि बरिष्ठ नेता माधव नेपालले अझै चित्त बुझाउनु भएको छैन । पार्टी कार्यकर्ताको दबावले, परिस्थितिले यो ऐतिहासिक सहमति मान्न उहाँलाई वाध्य बनाउने छ । नत्र एक्लिनुको विकल्प छैन । राजनीतिमा असन्तुष्टि र अडान स्वभाविक भए पनि कमरेड माधव नेपालको कार्यदलको सहमतिपछिको अडान र असन्तुष्टिचाहिँ आफैं सिद्धिने दिशातर्फ मुखरित छ भन्दा अत्युक्ति हुदैन । विगतमा गठबन्धनमा गहिरिएर लागेको कारण उनलाई यो एकता 'यता भीर उता पहिरो' जस्तो भएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : १० बजे