‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

महावीर जैनको सन्देश अनुसरण योग्य

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्नुभएका महावीर जैनको २६२० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
  
नेपाल जैन परिषद्ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भगवान् महावीरले दिएको सन्देश आफू बच्ने र अरुलाई बचाउने सिद्धान्त कोरोना जोखिम बढिरहेका बेला मानव समुदायका लागि अनुसरणयोग्य रहेको बताउनुभयो । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले भगवान् महावदीरको सन्देशअनुसार व्यवहार गर्नसके आधुनिक युगमा देखिएका धेरै समस्याबाट मुक्ति मिल्ने बताउनुभयो । भगवान् महावीरको उत्तर अध्याय सूत्र कृतिको नेपाली अनुवाद गर्नुभएका मानव मिलन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजी महाराजले महावीरका उपदेशको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । 

अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिनुभएको उहाँले बताउनुभयो । अरुलाई दुःख दिनु पनि हिंसा भएकाले अरुको उपकार गर्नु नै अहिंसा हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल जैन परिषद्का अध्यक्ष कुलकुमार लालवाणी, तेरापन्थ समाजका अध्यक्ष सुशीलकुमार जैन, जैन श्वेताम्बर मूर्ति पुजक समाजका अध्यक्ष विमलचन्द्र राखेचा, स्नातक समाजका अध्यक्ष कविन्द्रनाथ मोदी, नेपाल अणुव्रत समितिका अध्यक्ष दिनेश नौलखा, जैन दिगम्बर समाजका अध्यक्ष मुनेश जैन, जैन श्वेताम्बर तेरापन्थ युवक परिषद्का अध्यक्ष प्रभात नाहटा, जैन महिला मण्डलका अध्यक्ष सुजाता मेहतालगायतले भगवान् महावीरका सन्देश आज पनि मानव समुदायका लागि उपयोगी रहेकामा जोड दिनुभएको थियो । 

इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको कुण्डलग्राम नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशलाबाट उहाँको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि उहाँ शान्तिको खोजीका लागि तपस्यामा निस्कनुभएका विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उहाँले मानव समुदायलाई जैन दर्शन बाँड्नुभएको हो । रासस

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ०० बजे