‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मुर्रा राँगाबाट दुई हजार ६४३ डोज बिर्य उत्पादन

​​​​​​​बाँके  । बाँकेको  खजुरा गाउँपालिका गौघाटमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज बिर्य उत्पादन गरिएको छ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा कार्यालयबाट भारत सरकारले अनुदानमा दिएको  मुर्रा राँगाबाट मात्र  दुई हजार ६४३ डोज बिर्य उत्पादन गरिएको जानकारी दिनुभएको छ।

उहाँले सबै जातका   राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको बताउनुभयो ।उहाँका अनुसार गत आवमा  नेपालगन्जमा मुर्रा राँगाबाट ७१ हजार ६५० डोज, भारतीय मुर्रा राँगाबाट दुई हजार ६४३ डोज, गड्डी राँगाबाट एक हजार ७४ डोज गरी ७५ हजार ३६७ डोज राँगाको वीर्य उत्पादन भएको छ । जर्सी साँढेबाट पाँच हजार १९ डोज र होलिष्टेन साँढेबाट २२ हजार ९२५ डोज गरी २७ हजार ९४४ डोज साँढेको वीर्य उत्पादन गरिएको छ । 

त्यसैगरी बोयर बोकाबाट १६ हजार ९३४ डोज गरी गत आवमा जम्मा एक लाख २० हजार २४५ डोज वीर्य उत्पादन गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी गत आवमा कार्यालयबाट ७० हजार ७० डोज वीर्य वितरण गरिएको छ । जसमध्ये, नेपालगन्ज मुर्राको २४ हजार १७२ डोज, जर्सी साँढेको २९ हजार ४१० डोज, होलिष्टेन साँढेको १२ हजार ९४९ डोज, विदेशी जर्सी साँढेको ५१५ डोज, होलिष्टेन साँढेको ५८ डोज र बोयर बोकाको दुई हजार ९६६ गरी जम्मा ७० हजार ७० डोज वीर्य वितरण गरिएको हो । भारतीय मुर्रा राँगाको वीर्य भने अझै वितरण गरिएको छैन ।

कार्यालयमा गत वर्ष भारत सरकारले नेपाललाई अनुदानमा दिएका तीन वटा उन्नत जातका मुर्रा राँगा छन् । गत मङ्गसिर ६ गते नेपालगन्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । तीनमध्ये दुईवटा राँगाबाट वीर्य सङ्कलन गरिए पनि परीक्षणकै क्रममा रहेको हुँदा अझ वितरण नगरिएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष ल्याइएका तीनवटा भारतीय राँगामध्ये दुईवटा राँगाबाट उत्पादन गरिएको दुई हजार ६४३ डोज वीर्य परीक्षणकै क्रममा रहेको छ । परीक्षणको सकारात्मक नतिजा आएपछि तत्काल भारतीय राँगाको वीर्य वितरण गरिनेछ । 

उहाँले राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगन्जलगायत पोखरा र लाहानबाट राँगो र साँढेबाट वीर्य सङ्कलन गरिँदै आए पनि बोयर बोकाबाट भने नेपालगञ्ज कार्यालयबाट मात्र वीर्य सङ्कलन हुँदै आएको जानकारी दिनुभयो । उहाँले हप्तामा दुई दिन सोमबार र बिहीबार वीर्य सङ्कलन गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २४ बजे