‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रतिस्पर्धी र बहुदलीय प्रणाली नेपालीको रोजाइको व्यवस्था : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताउनुभएको छ । 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताउनुभयो ।

उहाँले सरकार लोकतन्त्रका मूल्य मान्यता, देश र जनता प्रति समर्पित भएर सुशासनका निम्ति निरन्तर लागिरहने बताउनुभयो । ‘संविधानको रक्षा र परिपालनमा सरकारका तर्फबाट कुनै कमी कमजोरी रहँदैन’, उहाँले भन्नुभयो । 

ओली कसैको पनि लोकतन्त्र प्रति मतमतान्तर नभएको बताउनुभयो । उहाँले त्यही हिसाबले देश अघि बढ्ने बताउनुभयो । 

अहिले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्ति देखिएको बताउँदै ओलीले गन्तव्य के हो भन्ने स्पष्ट दृष्टिकोण नभएकाहरू यसको विरुद्ध लागेका बताउनुभयो । सामाजिक, नैतिकता र इमानको बन्धनको बेवास्ता गरेर चल्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले यसबाट देशलाई मुक्त बनाउनुपर्ने बताउनुभयो । ‘समाजलाई विभिन्न ढंगले भड्काउन खोजिएको छ’, उहाँले भन्नुभयो । 

केही कमजोरीलाई देखाएर समाजलाई भड्काउने प्रयास भएको भन्दै उहाँले सरकार यस मामलामा सजग भएको बताउनुभयो । बलिदान र संघर्षले यो व्यवस्था प्राप्त भएकोले यसलाई ख्याल ख्याल नगर्न ओलीले चेतावनी दिनुभयो । ‘धेरै जनताको रगत बगेको छ, एक जना, दुई जनाको होइन, धेरैको जीवन गएको छ’, ओलीले भन्नुभयो । 

अन्य शक्ति केही समयको लागि देखिन सक्ने भए पनि तिनीहरू दिगो नहुने उहाँले प्रस्ट पार्नुभयो । ‘दिगो भनेको लोकतन्त्र मात्रै हो, टिकाउ भनेको लोकतन्त्र मात्रै हो’, ओलीले भन्नुभयो । 

संविधान संशोधन प्रतिगमनको लागि हुन्छ भन्ने कुरा सोच्न पनि नसकिने ओलीले बताउनुभयो । लोकतान्त्रिक शासन प्रणाली मिचेर जाने ठाउँ काहीँ पनि नभएको उहाँले बताउनुभयो । तानासाहका विरुद्ध आफूहरू लडेर आएकोले  

सुशासन र विकासका काम, लोकतन्त्र र समावेशितालाई अझ प्रभाकारी बनाउन संविधान संशोधन गर्न सकिने उहाँले बताउनुभयो । संविधान देश, जनता, सुशासन र समृद्धिका लागि चाहिएकोले त्यही अनुरूप संविधान संशोधन हुने उहाँले बताउनुभयो । ‘संविधान असंशोधनीय दस्ताबेज होइन, संशोधनीय दस्ताबेज हो’, ओलीले भन्नुभयो । 

संविधानको सर्वस्वीकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिने उहाँले बताउनुभयो । संविधान संशोधन व्यापक छलफल गरेर मात्र  गरिने ओलीले प्रस्ट पार्नुभयो । संविधानप्रति सबैलाई माया भएको सबैले मिलेर परिमार्जन र संशोधन गर्ने ओलीले बताउनुभयो । 

समाजमा सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गरी केही ट्रेन चलेकाले त्यसलाई रोक्नुपर्ने ओलीले बताउनुभयो । समाजलाई गाइड गर्नुपर्ने सांसदहरूले नै सामाजिक मूल्य मान्यता विपरीत बोल्ने र व्यवहार गर्ने हो भने समाजमा भएका गतिविधि विरुद्ध बोल्ने ठाउँ नहुने ओलीले बताउनुभयो ।

 

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  २ : ०७ बजे