‘एउटै नाउरको सिकार गर्न २३ लाख’

स्थानीय निकायले जनभावना बुझेर काम गर्नुपर्छ– पूर्वराष्ट्रपति भण्डारी (भिडियोसहित)

काठमाडौँ । स्थानीय निकायलाई जनभावना बुझेर काम गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव दिनुभएको छ । 

मंगलबार सूर्यविनायक नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले पनि स्थानीय निकायको भूमिका अहम् रहेकोमा जोड दिनुभयो । 

विकासको जग नै स्थानीय निकायले बसाल्ने भएकाले जुनसुकै पार्टीबाट निर्वाचित भए पनि जनतासँग नजिक रहेर सरकारको अनुभूति दिलाउनु पर्नेमा पूर्वराष्ट्रपति भण्डारीले प्रष्ट विचार राख्नुभयो । उहाँले भन्नुभयो, “फरकफरक राजनीतिक दलबाट निर्वाचित भए पनि जनप्रतिनिधिहरुले जनताका लागि मिलेर काम गर्नु पर्छ । निर्वाचनको दुई–तीन महिनाको अवधिमा राजनीतिक प्रतिस्पर्धा भए पनि त्यसपछि भने जनताकै लागि काम गर्नुपर्छ ।”

दूरदराजका जनताले अड्डा अदालत धाउन नपरोस् भनेर स्थानीय तहमा न्यायिक समिति गठन गरिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले स्थानीय समस्या स्थानीय तहबाटै समाधान गर्नु पर्ने बताउनुभयो । यसका लागि जनतासँग घनिष्ट सम्बन्ध राखेर काम गर्न समेत जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले कर्मचारीहरुसँगै जनप्रतिनिधिहरू पनि राष्ट्रसेवक भएको स्मरण गराउनुभयो । आफूले विद्यार्थी राजनीति गर्दा बिनाबर्दीको पहरेदार भएको भन्दै भाषण गर्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियता, सार्वभौमिकता जोगाउन र विकास निर्माणमा लागीपर्ने जनप्रतिनिधिहरु स्वतः राष्ट्र सेवक हुन् ।” 

उहाँले आफूसमेत जनप्रतिनिधि रहेको स्मरण गर्दै अब जनप्रतिनिधिहरुले भौतिक विकास मात्र नभई मानवीय विकासतर्फ पनि ध्यान दिनपर्ने भन्दै यस दायित्वमा ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो । त्यसका लागि सबै जनप्रतिनिधिहरुले आफूले गरेको कामको समीक्षा गरेर अघि बढ्नु पर्ने उहाँको सुझाव थियो । 

काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरुलाई सिंहदरबारको सहज पहुँच रहेकाले दूरदराजका जनप्रतिनिधिहरुका लागि उदाहरण हुने गरी काम गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, “उपत्यकाका जनप्रतिनिधिले गरेका कामबाट ताप्लेजुङ, तेह्रथुम, राजविराज, कपिलवस्तु र बैतडीका जनप्रतिनिधिले सिक्न पाउनुपर्छ ।”

स्थानीय स्रोत साधनको संरक्षण गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा सार्वजनिक सम्पत्तिको दोहन बढेकामा चिन्ता समेत व्यक्त गर्नुभयो । मनसुनको समयमा उपत्यकामा डुबानको समस्या भएको र सुख्खायाम पानीको स्रोत सुक्दै जाने समस्याका बारेमा चिन्ता व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “भविष्यमा काठमाडौँ उपत्यकामा पानीको विकराल समस्या हुन सक्छ । तसर्थ सार्वजनिक जग्गा तथा पानीका स्रोत संरक्षणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्छ ।” 

मुलुकमा भएको द्वन्द्वका कारण आन्तरिक बसाइ सराईं बढेको र यसले कतिपय स्थानमा विकासको दर अपेक्षाकृत कम भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले उपत्यकामा बसाइ सराईं गरेर आएका अन्य जिल्लाका नागरिकहरुले आफ्नो जन्मस्थलको विकासमा थोरै भए पनि चासो राख्न सुझाव दिनुभयो ।  

साउन महिनाको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिरमा पूजा समेत गर्नुभयो । सूर्य विनायक नगरपालिकाले आयोजना गरेको कार्यक्रमका अवसरमा मेयर वासुदेव थापा, उपमेयर सरिता भट्टराईलगायत जनप्रतिनिधिहरूले पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो । स्थानीय नगरपालिका र नागरिक समाजले भावनात्मक स्वागत गरेको र आफूले संवाद गर्ने अवसर पाएकामा पूर्वराष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ८ : १९ बजे