‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माधवलाई काउन्टर दिँदै राजेन्द्र पाण्डेको छुट्टै सम्पर्क कार्यालय 

काठमाडौँ ।  एसका अध्यक्ष माधव नेपाललाई काउन्टर दिँदै अर्का नेता राजेन्द्र पाण्डेले छुट्टै कार्यालय खोल्नुभएको छ ।

एसको केन्द्रीय कार्यालय रहेको आलोकनगरबाट तीन मिनेटमा पुग्न सकिने दूरीमा खोलिएको सो कार्यालयमा तीन कर्मचारी समेत राखिसकिएको छ । ४० हजार मासिक भाडा तिर्ने गरी खोलिएको सो कार्यालयमा एसको केन्द्रीय कार्यालयमा भन्दा बढी चहलपहल देखिन थालेको छ ।

पाण्डेको यो कार्यालय खुलेसँगै अस्तित्व बचाउन समेत धौ धौ भइरहेको एकीकृत समाजवादी थप विवादमा भासिएको छ । शनिबार मात्रै ३४४ सदस्यीय जम्बो केन्द्रीय समिति गठन गरेर जात्रा देखाउँदा समेत पार्टीभित्रको आन्तरिक विवाद साम्य हुनुको साटो थप उग्र हुन पुगेको छ ।

पार्टीभित्र सल्किएको आगोमा निवर्तमान उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको वक्तव्यले इन्धनको काम गरेको थियो । पाण्डेले गत साता एक वक्तव्य जारी गर्दै पार्टीभित्र नेतृत्व चयनका क्रममा विवाद रहेको तथ्य उजागर गरेका थिए । 

३४४ जना केन्द्रीय सदस्य बनाउँदा पनि पार्टीको विवाद साम्य हुन नसकेपछि असन्तुष्ट पक्षहरूको नेतृत्व गर्दै पाण्डेले वक्तव्य जारी गरेको एक केन्द्रीय सदस्यले चक्रपथलाई बताए ।

त्यसो त एसका पूर्वउपाध्यक्षका हैसियतमा जारी पाण्डे स्वयंको वक्तव्यमा ३४४ जनाको केन्द्रीय समितिले पार्टीको नेतृत्व पूर्ण नभएको र अझै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन पनि हुन नसकेको उल्लेख छ ।

उहाँले वक्तव्यमा कतिपय जिल्लाको नामै लिएर नेतृत्व चयनमा अन्यायमा गरिएको र पार्टी अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला रौतहट लगायत जिल्लाबाट आवश्यकताभन्दा बढी नेतृत्वमा आएको उल्लेख गर्नुभएको छ ।  

उहाँले वक्तव्यमा भन्नुभएको  छ, “साउन  १८ गते ३४४ जना सदस्य रहेको केन्द्रीय कमिटी घोषणा भएको थियो । यो घोषणाले पनि पार्टीको नेतृत्व पूर्ण हुन सकेको छैन । अझै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन हुन सकेको छैन । मनाङ, मुस्ताङ जिल्लाले एक जना पनि केन्द्रीय सदस्य पाउन सकेका छैनन् भने नुवाकोट, बागलुङ, पूर्वी नवलपुर, प्यूठान, स्याङ्जा, सोलुखुम्बु, लमजुङ, भारत प्रवास र अन्य प्रवासले पाउनुपर्ने संख्यामा केन्द्रीय सदस्य प्राप्त गरेका छैनन् । काठमाडौं, कास्की, मोरङ, रौतहट जिल्लाले उल्लेख्य संख्या प्राप्त गरेका छन् भने एउटा मात्र निर्वाचन क्षेत्र भएका सल्यान, हुम्ला, डडेल्धुरा, दोलखा जिल्लाले जनसंख्याको तुलनामा र अछाम, कैलाली, कञ्चनपुर, धनुषा, ललितपुर आदि जिल्लाले प्राप्त गरेको केन्द्रीय सदस्य पार्टी कामको तुलनामा संख्या असन्तुलित रहेको देखिएको छ ।”

पार्टीमा विस्फोट हुन लागेको संकेत गर्दै वक्तव्यमा उहाँ अगाडि भन्नुहुन्छ—
पार्टी निर्माणमा जुटिरहनुभएका र पार्टी निर्माणमा ठुलो योगदान दिन सक्ने थुप्रै कमरेडहरूको नाम केन्द्रीय कमिटीमा ल्याउन सकिएको छैन । यसै विषयलाई आधार मानेर असल इमान्दार र योग्य कमरेडहरूले पार्टीमा योगदान गर्ने इच्छा हुँदाहुँदै पनि आफू केन्द्रीय कमिटीमा आउन नपाउनुभएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरिरहनुभएको छ । सबै कमरेडहरूलाई धैर्यपूर्वक पार्टीका बाँकी निर्णयहरू पर्खन, पार्टीमा आफूले दिन सक्ने योगदानलाई नकारात्मक बोली, लेखाइ र भ्रम सिर्जना गर्न सक्ने अभिव्यक्ति नदिन र आफूलाई एउटा असल तथा अनुशासित कम्युनिष्ट योद्धाका रूपमा उभ्याउँदै पार्टी अनुशासनलाई पनि ध्यान दिई धैर्य गरिदिन आग्रह गर्दछु । आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौँ भने भोलि त्यो समस्या हामी आफैँलाई पर्ने हो भन्ने हेक्का राखेर पनि धैर्य धारण गर्दै पार्टी केन्द्रका बाँकी निर्णयहरूलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ५ : ३६ बजे