साफ यू–१७ च्याम्पियनसिप आजदेखि

निष्क्रिय कर्जा घटाउन विकास बैंकहरूलाई सकस

काठमाडौँ । विकास बैंकहरूलाई थुप्रिएको निष्क्रिय कर्जा घटाउन चुनौती बढेको छ । गत आर्थिक वर्षमा यस्तो कर्जा घटाउन नसक्दा चुनौती थपिएको हो । 

गत आवमा विकास बैंकहरूको औषत निष्क्रिय कर्जा ३.५९ प्रतिशत पुगेको थियो । अघिल्लो आवमा २.५९ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर ३.५९ प्रतिशत पुगेको हो । अर्थतन्त्रमा आएको सुस्सताले कर्जा असुली हुन नसकेपछि विकास बैंकहरूको खराब कर्जा बढेको देखिएको छ । 

ऋणीको कर्जा तिर्न सक्ने क्षमता कमजोर भएका कारणले निष्क्रिय कर्जा घटाउन समस्या भएको बैंकरहरूले बताएका छन् । अहिले व्यवसायीहरूले ऋण तिर्न नसकेका कारण असुलीमा समस्या भएको हो ।

सरकारले केही वर्षअघि जग्गाको कित्ताकाटमा रोक लगाएका कारण पनि त्यसको असर बैंकिङ क्षेत्रबाट प्रवाह भएको कर्जामा परेको थियो । दशैं, तिहारजस्ता चाडपर्वपछि अर्थतन्त्र चलयामान हुने अपेक्षा गरिएको छ । 

राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये निष्क्रिय कर्जा सबैभन्दा धेरै हुनेमा ज्योति विकास बैंक रहेको छ । गत आवमा यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा निष्क्रिय कर्जा ३.४३ प्रतिशतमात्रै थियो । महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ४.५८ प्रतिशत पुगेको छ ।

अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.५१ प्रतिशत थियो । सांग्रिला डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा ३.१६ प्रतिशतमात्रै रहेकोमा गत आवमा बढेर ४.०८ प्रतिशत पुगेको छ । शाइन रेसुंगाको अघिल्लो आवमा १.८१ प्रतिशत रहेकोमा गत आवमा बढेर ३.४३ प्रतिशत पुगेको छ । 

लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा गत आवमा ३.२९ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने यस बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत थियो । गत आवमा कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा ३.२१ प्रतिशत पुगेको छ ।

अघिल्लो आवमा यस बैंकको निष्क्रिय कर्जा ३.०९ प्रतिशत थियो । गरिमा विकास बैंकको निष्क्रिय कर्जा अघिल्लो आवमा १.७ प्रतिशत रहेकोमा गत आवमा २.८९ प्रतिशत पुगेको छ ।

मुक्तिनाथ विकास बैंकको अघिल्लो आवमा ०.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर २.२६ प्रतिशत पुगेको छ । यद्यपि, गत आवमा सबैभन्दा कम निष्क्रिय कर्जा हुने मुक्तिनाथ विकास बैंक हो । 

निष्क्रिय कर्जा घटाउन नसकेका विकास बैंकहरूको लाभांश क्षमता भने अब्बल रहेको छ । आठ राष्ट्रिय स्तरका विकास बैंकमध्ये सातवटा लाभांश दिन सक्ने अवस्थामा छन् । ज्योति विकास बैंकले भने वितरणयोग्य नाफा ऋणात्मक रहेकाले लाभांश बाँड्न सक्दैन । 

बाँकी सात विकास बैंकमध्ये सबैभन्दा अब्बलमा कामना सेवा छ । उक्त बैंकको लाभांश क्षमता अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १०.९१ प्रतिशत छ । सञ्चालनमा रहेका अरु ७ राष्ट्रियस्तरका विकास बैंक र १७ वटा वाणिज्य बैंकको भन्दा यो बढी हो ।

विकास बैंकहरूमध्ये लाभांश क्षमतामा कामना सेवापछि गरिमा विकास बैंक छ । गरिमाले गत आवको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश दिन सक्छ । लाभांश क्षमताको सूचीमा कामना सेवा र गरिमापछि शाइन रेसुंगा छ ।

यस बैंकको लाभांश क्षमता ८.१२ प्रतिशत छ । यस्तै, लुम्बिनी विकास बैंकको लाभांश क्षमता ७.४ प्रतिशत हुँदा सांग्रिलाको ५.१८ प्रतिशत, मुक्तिनाथको ४.७१ प्रतिशत र महालक्ष्मी विकास बैंकको ४.२५ प्रतिशत छ ।
 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ४८ बजे