मार्फामा बढ्दै पर्यटक

थप हवाई रुट उपलब्ध गराउन परराष्ट्रमन्त्री राणाको भारतीय विदेश सचिवलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग हवाई रुटबारे छलफल गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री राणाले नेपाल–भारत ‘एअर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गर्नुभएको हो ।

मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गर्नु भएको थियो ।

भेटका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ।

मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउनु भएको थियो ।

मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो। मन्त्री राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ३ : ०६ बजे