‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उपप्रधानमन्त्री सिंह र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा आज भएको    उक्त भेटवार्तामा उहाँहरुबीच सहरी विकास, फोहरमैला व्यवस्थापन, बागमती, विष्णुमतीलगायत नदीको स्वच्छता र सफाइलगायत नेपाल–भारतबीच हुनसक्ने सहकार्यका  विषयमा छलफल भएको थियो । भेटमा विदेश सचिव मिस्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिनुभएको थियो ।  

उपप्रधानमन्त्री सिंहले भारतमा चलिरहेको स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने उल्लेख गर्दै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । यस्तै, उहाँले नेपाली नागरिकले सीमामा आवतजावतमा समस्या भोगिरहेको उल्लेख गर्दै नेपालले महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण चाहिरहेको बताउनुभएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

नेपालको पूर्वाधार विकास, भूकम्प र कोभिड–१९ को समयमा भारतले गरेको सहयोगका लागि उपप्रधानमन्त्री सिंहले विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभएको थियो । “नेपालको सहरी विकासको क्षेत्रमा भारतबाट के सहयोग हुनसक्छ भन्नेबारे छलफल भयो”, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भन्नुभयो,  “हामीले तुइनलाई विस्थापित गर्ने अभियान नै चलाएका छौँ । सीमा नदीमा झोलुंगे पुल बनाउन भारतको सहमति चाहिन्छ । त्यो सहमति लिने प्रक्रिया सरल र सहज होस् भनेर हामीले कुरा राख्यौँ । भारतीय पक्ष यसमा सकारात्मक रह्योे ।”

भारतको इन्दौरलगायत केही सहरमा स्वच्छ भारत अभियानअन्तर्गत भइरहेको फोहरमैला व्यवस्थापन र गंगा नदी सफाइको अनुभव तथा प्रविधि आदानप्रदानमा सहकार्यबारे पनि भेटमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो । सो अवसरमा विदेश सचिव मिस्रीले नेपालको शान्ति, स्थायित्व र समृद्धिका लागि भारतको सधैँ साथ र सहयोग रहने उल्लेख गर्नुभयो । 

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएको हो । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ ।
 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : ४१ बजे