‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उनी जे छन्, त्यही छन् !

उनी सधै बिहानबिहनै शुभकामना दिन्छन्
हो, उनी बिखालु हुन्
उनी बिहानबिहानै हिमाल, पहाड र मधेशका फोटोसँगै समृद्धिको भाव प्रकट गर्छन्
हो, उनी साह्रै संकीर्ण छन्
उनी देशवासीका सबै चाडहरू कत्ति नबिराई शुभेच्छा प्रकट गर्छन्
हो, उनी असहिष्णु छन्
उनी देशभरिका बालबालिकाहरूलाई माया गर्छन्, आफ्नै ठान्छन्
हो, उनी क्रूर छन्
उनी देशको समृद्धिका सपना देख्छन्, समृद्धिका योजना बुन्छन्
हो, उनी शोषक हुन्
उनी नेपाल भूमिको इतिहास केलाउँछन्, यसलाई सृष्टि, ज्ञान, विज्ञान र उज्यालोको मुहान् दाबी गर्छन्
हो, उनी राष्ट्रघाती हुन्
उनी गुमेको नक्सा र दबेको स्वाभिमान फिर्ता ल्याउने संकल्पमा एकताबद्ध पार्छन्
हो, उनी लेण्डुपैकै पथगामी हुन्
उनी विधिको सत्ताका लागि कानुनको प्रस्ताव गर्छन्
हो, उनी निरंकुश हुन्
उनी सुरुङमार्ग, रेलमार्ग, जलमार्गको सम्भावना देख्छन्
हो, उनी पश्चगामी हुन्
उनी परदेशमा बिचल्ली र बन्धक बनेकाहरूलाई देश फर्काउँछन्
हो, उनी बेपर्वाह दलाल हुन्
उनी खाडीमा श्रम बेच्ने विवश पौरखी राष्ट्रका सपुतहरूलाई सामाजिक सुरक्षामा जोड्ने प्रयत्न गर्छन्
हो, उनी जनविरोधी हुन्
उनी युरोप, अमेरिका, जापान उड्दै गरेका नेपाली तन्नेरीहरूलाई देशमै रोक्ने तानावाना बुन्छन्
हो, उनी युवा विरोधी हुन्
उनी ज्ञान र तर्कका दममा आँटिलो कुरा गरेर उत्प्रेरित गर्दछन्
हो, उनी एकोहोरो र घमण्डी छन्
उनी आफ्नो घर सम्पत्ति राष्ट्रलाई सुम्पने कागजमा सहीछाप गर्छन्
हो, उनी लोभी छन्
उनी तोकिएको कर्तव्यपछि पनि भररात पुस्तक पढ्छन्
हो, उनी साह्रै अल्छी छन्
उनी देश, दुनियाँ, इतिहास, संस्कृति, अनुसन्धान, आविष्कारका कुरा गरेर थाक्दैनन्
हो, उनी अनपढ छन् 
उनी दिनहुँ हजारौँलाई भेट्छन् र सयौँका कुरा सुन्छन्
हो, उनी जीवन बुझ्दैनन्
उनी गीत संगीत सुन्छन्, नवरसमा डुबुल्की मार्छन्
हो, उनी सारहीन छन्
उनी खेल–खेलाडिप्रति हुरुक्क हुन्छन् दिन तोकेर खेलमैदान बनाउने आदेश दिन्छन्
हो, उनी खेलको महत्त्व बुझ्दैनन्
उनी आफूमाथि लागेका आरोपहरू पुष्टि गर्न खुला चुनौती दिन्छन्
हो, उनी डरपोक छन्
बाँकी त हामी छँदै छौँ
एउटाको पर्वमा अर्काको बदख्वाइँ गर्छौं 
शुभकामनाका पानामा श्रद्धाञ्जली लेखिदिन्छौँ 
विकासका योजनामा भ्रष्टाचार देख्छौँ 
हरेक परिकल्पनामा गफ मात्र देख्छौँ
रोप्न नभ्याउँदै फल फलाको हाल्छौँ 
आफ्नो आकाशमा अरूको हवाईजहाज उडेको देखेर पनि
अरूको समुद्रमा हाम्रो पानी जहाज चल्न असम्भव ठान्छौँ
उनी बढी नै छन्
विदेशीसँग झुक्दैनन्, शत्रुता कसैसँग राख्दैनन्, मित्रता सबैसँग भन्छन् 
स्वदेशी उद्योगको लाइन काटेर 
विदेशमा बिजुली बेच्ने रहर मेट्न चाहँदैनन् 
उनी जे छन्
हो, उनी त्यही छन्, उनी आफैँ परिभाषा पृथक् परिभाषा हुन् !
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ५ : २३ बजे