‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विराटनगर वडा नम्बर १८ को नवनिर्मित भवन उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका–१८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । 

भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आज नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । 

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द्र नेउपाने, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियालगायतको उपस्थिति थियो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले छिटोछरितो रूपमा जनतालाई सेवा दिन वडाका जनप्रतिनिधि र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । 

चालु आर्थिक वर्षका लागि वडाबाट ५० लाख लगानी गर्ने योजनाका लागि महानगरले ५० लाख रुपैयाँ थपिदिने मेयर कोइरालाले बताउनुभयो । 

“वडाले ५० लाख लगानी गर्ने १ करोडसम्मको योजनामा महानगरले ५० लाख थपिदिन्छ,” मेयर कोइरालाले भन्नुभयो, “१ करोडको लगानीमा राम्रै योजना सम्पन्न गर्न सकिन्छ ।”

कोइरालाले सीमित स्रोत साधनको बाबजुद पनि महानगरवासीका असीमित चाहना परिपूर्ति गर्न महानगरपालिका लागिपरेको उल्लेख गर्नुभयो ।

“महानगरले गत आर्थिक वर्ष करिब ६१ करोड आन्तरिक आम्दानी गर्‍यो । महानगरको ५० करोडभन्दा बढी प्रशासनिक खर्च छ,” उहाँले थप्नुभयो, “आर्थिक स्रोतले भ्याएसम्म महानगरको विकासमा लागिपरेका छौं ।” 

कम्पाउण्डवालसहित ६९ करोडको लागतमा निर्मित भवनमा प्रशासन, लेखा, अध्यक्ष र सचिवको कार्यकक्ष, स्टोर, प्राविधिकसहित ६ वटा कोठा रहेका छन् ।

२ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको भवन अपांगमैत्री रहेको महानगरको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । भवनभित्र सेवाग्राहीलाई प्रतीक्षाका लागि हलसमेत रहेको उहाँले बताउनुभयो । 

यसअघि भाडाको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । साँघुरो ठाउँबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा निकै समस्या भएको वडाध्यक्ष जितेन्द्र साहले बताउनुभयो ।

नवनिर्मित भवनमा पार्किङ, पूर्व र उत्तरबाट प्रवेशद्वार भएकाले आवागमनमा समेत सहज हुने वडाध्यक्ष साहको भनाइ छ । नवनिर्मित भवनबाट सेवा सुरु गरेसँगै वडावासी खुसी देखिएको वडासचिव किरण सुवेदीले बताउनुभयो । कार्यसम्पादनमा कर्मचारीलाई पनि निकै सहज भएको उहाँको भनाइ थियो । 

महानगरका १९ वडामध्ये अब १३ नम्बर वडाको मात्रै भवन निर्माण हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : २९ बजे