संसद्को बजेट अधिवेशनको समय नजिकिएको छ । सरकारका अर्थमन्त्रीले यस विषयमा विभिन्न पक्षहरूसँग सघन छलफल तथा अन्तर्क्रिया गरिरहनुभएको जानकारी विभिन्न माध्यमबाट भइरहेको छ । यद्यपि, छिनोफानो लगाउने जिम्मेवारी हामीले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरूको हो ।
तथापि, अन्यले पनि आफ्ना विचारहरू प्रस्तुत गरेर नीति, कार्यक्रम र बजेटमा आफ्ना विषयतर्फ ध्यानाकर्षण गराउनु जायज नै हुन्छ । अर्थमन्त्री÷मन्त्रालयबाट पनि यस आसयको सूचना सम्प्रेषित भएको छ । सुझावहरू माग गरिएको छ । यस सन्दर्भमा धेरैका धेरै सुझावहरू आउने नै छन्, तर संस्कृति संरक्षण तथा संवर्द्धनका विषयमा केही विषय अघि सारिएको छ ।
नेपाल बहु धार्मिक, बहुभाषिक, बहु सांस्कृतिक विशेषतायुक्त राष्ट्र हो । यी सबैको समन्वय र संरक्षण गर्दै यिनीहरूका बीचमा समभाव विकास गर्नका लागि राज्यको समुचित ध्यान जानु आवश्यक हो । यस अर्थमा जनजातिका मामिलाहरूलाई सम्बोधन र व्यवस्थापन गर्न आदिवासी जनजाति आयोग, आदिवासी जनजाति विकास प्रतिष्ठान बनाइएको छ । तराईका आदिवासीका रूपमा रहेका थारुहरूको हितहरूको रक्षा तथा भाषा संस्कृतिको संरक्षणका लागि थारु आयोग रहेको छ । सदियौँदेखि जातीय उत्पीडनमा पारिएका दलित समुदायको उत्थान र विकासका लागि दलित आयोग हुनु स्वाभाविक हो ।
यी सबै जाति—समुदायमा अधिकारका दृष्टिले पछि पारिएका र सामाजिक रूपमा दोस्रो दर्जामा पारिएका महिलाहरूको समान हक स्थापित गर्न महिला आयोगको व्यवस्था हुनु सर्वथा उचित हो । आधुनिक राज्यहरूको निर्माणपछि नेपालमा पहाडी जातिको एकछत्र राज्य रहेको कारण नेपालकै तराई मधेस भू–भाग उपेक्षित रहेको यथार्थ स्वीकार गरी मधेसी आयोग बनाइएको विषय पनि उत्तिकै सान्दर्भिक छ । यी सबै समुदायका धार्मिक आस्था कतिपयमा उस्तै र कतिपयमा फरक—फरक रहेको देखिन्छ । यी सबैका मौलिक ज्ञान, सीप र क्षमता छन् ।
यहाँ अलि फरक मुस्लिम आयोग छ । यद्यपि, मुस्लिम समुदाय हो, तर यो स्पष्टतः इस्लाम धार्मिक समुदाय हो । यस समुदायभित्र सिया र सुन्निको भेद छ । यसले जाति, भाषा र धर्म सबै समेट्दछ । यस आयोगले मुस्लिम समुदाय र इस्लाम धर्म एवं इस्लामिक शिक्षा—संस्कृतिका क्षेत्रमा काम गर्दछ । नेपालमा अल्पसङ्ख्यक समुदायको रूपमा रहेको यस समुदायको हितहरूको संरक्षणको लागि यस्तो आयोग बन्नु जायज हो ।
माथि उल्लेख गरिएका सबैमा रहेका ज्ञान, सीप र क्षमता हाम्रो राष्ट्रको सम्पत्ति र सम्पदा हो । यिनीहरूको थप विकास र सदुपयोगका लागि राज्यले अझ बढी महत्त्वका साथ ध्यान दिन र अघि बढाउन आवश्यक छ ।
अर्को महत्त्वपूर्ण पक्ष छ, त्यो हिन्दु र बौद्धको संरक्षण र विकास । हिन्दु आयोग छैन । बौद्ध आयोग छैन । के हिन्दु र बौद्धहरूलाई राज्यले ध्यान दिन पर्दैन र ? आयोग वा विशेष व्यवस्थाभित्र आरक्षण मात्र पर्छ र ? केही दिन मात्र होइन, केही लिन पनि हिन्दु र बौद्धका लागि राष्ट्रिय स्तरको संरचना आवश्यक देखिन्छ ।
हिन्दु शब्दको स्वीकार्यतामा केही प्रश्नहरू छन् । यो शब्दले जाति वा समुदाय जनाउँदैन, यो त खास भूगोल खास कालखण्डमा विकसित भएको सभ्यता हो भन्ने भनाइसँगै यस शब्दको निर्माण नै ‘स’लाई ‘ह’ उच्चारण भएबाट यो शब्द बनेको हो भन्ने भनाइ रहेको छ । वेद, पुराणहरूमा ‘हिन्दु’ शब्दको प्रयोग नै नभएकोले यस शब्दले सोही अर्थमा ‘धर्म’लाई वहन गर्दैन भन्ने मतहरू पनि रहेको पाइन्छ ।
हाम्रो देशको संविधानमा पनि ‘हिन्दु’ शब्द रहेको छैन । यहाँ यसलाई ‘सनातनदेखि चलिआएका…..’ भन्ने वाक्यांशले सम्बोधन गरेको छ । ‘सनातन वैदिक वा वैदिक सनातन’ शब्दावली भने प्रायः सबैले स्वीकार गरेको पाइन्छ । सहजता, एकता र समन्वयका लागि ‘ॐकार परिवार’ भन्ने गरेको पाइन्छ । यो वैदिक सनातन धर्ममा बढी नै सम्प्रदाय रहेको छ, तथापि पाञ्चायन भने सबैले मानी आएको विषय देखिन्छ ।
आ–आफ्नो परम्पराअनुसार पाञ्चायनका विष्णु, शिव, देवी, गणपति र सूर्यको स्थान भने फरक–फरक राख्ने गरिन्छ । यिनमा विष्णुलाई सर्वोपरि मान्ने वैष्णवहरूले विष्णु, शिवलाई सर्वोपरि मान्ने शैवहरूले शिव र देवीलाई सर्वोपरि मान्ने शाक्तहरूले देवीलाई मध्य भागमा राखी पाञ्चायन पूजा गर्ने प्रचलन रहिआएको छ । भनाइमा सूर्यलाई सर्वोपरि मान्ने सौर र गणेशलाई सर्वोपरि मान्ने गाणपत्य सम्प्रदाय पनि रहेको भनिन्छ, तर सौर र गाणपत्य मतका प्रवर्तक, मठाधीश, खास चिन्ह धारण गरे गराइएको जानकारी छैन ।
हिन्दु या वैदिक सनातनीहरूमा अलि बढी भेद छन् । जे होस्, यो पक्ष नेपालको जनसांख्यकीय हिसाबले ठुलो र सामाजिक प्रभावका दृष्टिले बढी नै प्रभावशाली रहेको छ । यस समुदायले मान्दै आएको परम्परा र विकास गरेको पद्धतिका धेरै आधार वेद नै हो । वेद सर्व प्राचीन सङ्ग्रह हो । यसको रचना नेपाल रहेकै भू–भागका गुहा—कन्दरा, नदी किनार, खोच, वन र बस्तीमा भएको हुन् ।
यो समुदाय र यसले अवलम्बन गर्दै आएको धर्म र यसमा आधारित संस्कृतिको संरक्षण र विकासमा उचित ध्यान नदिने हो भने मानव सभ्यता विकासको प्रारम्भिक कालदेखिको अविच्छिन्न विरासत ध्वस्त हुनेछ र साह्रै पछि विकास गरिएका अस्थिपञ्जर भएका तर प्राण नभएका संस्कृति हाबी हुनेछ ।
अतः यो संस्कृतिको संरक्षण र विकासका लागि नेतृत्वदायी सशक्त संरचना आवश्यक छ । बेलैमा यसो गरिएन भने समय क्रममा यसका अनेक सम्प्रदायहरू, यसलाई मानिआएका जातजातिहरू फरक ढङ्गले सङ्गठित हुनेछन् र अनियन्त्रित गतिमा गतिशील हुनेछन् । यस्तो सम्भावना ‘ॐकार परिवार’ भित्रैबाट भन्दा पनि यो क्षेत्रलाई उद्वेलित बनाएर मुलुकको अस्थिरतामा रमाउने अन्य शक्तिबाट हुन सक्ने देखिन्छ ।
त्यस्तै, बौद्ध मार्गीहरू स्वीकार नगर्ने, तर हिन्दुहरूले भन्दै आएको विषय हो भगवान् बुद्ध विष्णुको नवौँ अवतार हुनु । अनेकौँ बुद्धहरू भए पनि अहिले संसारले मानेको बुद्ध नेपालको लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतम हुन् । बुद्ध शब्दको अर्थ ज्ञान, बोध हो । राजन शुद्धोदन र महारानी मायादेवीका छोरा युवराज सिद्धार्थ घर—परिवार, राजकीय सत्ता र सुखसयल त्यागेर कठोर तपको माध्यमबाट ‘शान्ति’को ज्ञान पाएपछि ‘बुद्ध’ भएका हुन् । उनको साधना, दर्शन, उनका उपदेश संसारका लागि शान्तिको मार्गदर्शक बनेको छ ।
धार्मिक हिसाबले यसमा पनि केही पन्थहरू र भेद छन्, तर पनि समग्रमा बुद्धलाई संसारले साधना, ज्ञान र शान्तिको खोजीमा प्राप्त गरेको उपलब्धिका लागि सबैले स्वीकार गरेका छन् । हामीले बेलैमा उचित ध्यान पुर्याउन नसक्दा बुद्धको जन्मस्थलकै विषयमा भ्रम सिर्जना गर्ने काम गरियो । अहिले पनि छिमेकी राष्ट्र भारतका औपचारिक पाठ्यक्रममा बुद्ध भारतमै जन्मेको भनेर पढाइन्छ । यद्यपि, अहिले अन्तर्राष्ट्रिय जगतले बुद्ध नेपालमै जन्मेको तथ्य स्वीकार गरिसकेको अवस्था त छ, तर यसको लागि नेपालीहरूले निकै ठुलो अभियान चलाउनु परेको थियो ।
हाम्रो देशमा बुद्ध धर्म मान्नेहरूको सङ्ख्या निकै ठुलो छ । हिन्दुहरू पनि बुद्धलाई आफ्ना आराध्य भगवान् विष्णुको अवतार नै मान्दछन् । संसारले शान्तिका अग्रदूत भनेर मान्दछ । बुद्ध जन्मेको हाम्रो देशमा बुद्ध र बौद्ध प्रवर्द्धन गर्ने संवैधानिक संरचना छैन । हामीले बुद्ध र उहाँद्वारा खोज तथा प्रतिपादन गरिएका दर्शन, धर्म, शील, उपदेश आदिको जीवनोपयोगी हिसाबले ग्रहण गर्ने व्यवस्था नगर्ने हो भने हामीसँग बुद्ध जन्मेको माटो त रहने छ, तर त्यो सारहीन भग्नावशेष बाहेक केही हुने छैन ।
सामान्य चर्चा, परिचर्चामा हिन्दहरूको धार्मिक—सांस्कृतिक संरचनाको विषय आउँदा पशुपतिनाथ, जानकी मन्दिर आदिको उल्लेख हुन्छ । बौद्धको विषय उठ्दा लुम्बिनी, स्वयम्भू आदिको उदाहरण दिने गरिन्छ । तर, यो सही होइन । यी त मन्दिरहरू हुन्, पूजा स्थल हुन् । केही गुम्बा, चैत्य, विहारहरू पनि पूजा, प्रार्थना, ध्यान आदि निश्चित प्रयोजनका पारम्परिक संरचना हुन् । यस्तो त मुस्लिमहरूका मस्जिद, मदरसा छन् । अरूका पनि सङ्ग्रहालय आदि छन् ।
मुस्लिम, थारु, जनजाति, दलित, मधेसी, महिला आदिका विषयमा राज्यले केही खास निर्णय लिनुपर्दा वा केही विशेष नीति निर्माण गर्नुपर्दा तत् तत् विषयका राष्ट्रिय स्तरका संवैधानिक संरचनाहरूको भूमिका र दायित्व हुन सक्दछ ।
यसै त संविधानमा कुनै पनि धर्मको नाम उल्लेख गरिएको छैन । हिन्दु, मुस्लिम, बौद्ध, शिख, जैन, बोन्पो, किरात आदि अनेकौँ परम्परागत धार्मिक मान्यताहरूलाई ‘सनातनदेखि चलिआएका…..’ भनेर स्वीकार गरिएको छ । यी सबैलाई स्वीकार गर्ने, कसैलाई तिरस्कार नगर्ने धर्मनिरपेक्षता बलियो बनाउन सक्दा मात्र धार्मिक सहिष्णुता कायम राख्न र विकास गर्न सकिने देखिन्छ ।
त्यस्तै गरी, हिन्दु र बौद्धका विषयमा कुनै ठोस भूमिका आवश्यक पर्दा, ती विषयमा राज्यको लागि खास योगदान चाहिँदा होस् वा उनीहरूका समस्याहरू निराकरण गर्नुपर्दा हिन्दु र बौद्धका लागि छुट्टाछुट्टै संवैधानिक संरचना आवश्यक छ । त्यसो नहुँदा सम्मका लागि ‘सनातन संस्कृति संरक्षण तथा विकास समिति’ र ‘बौद्ध संस्कृति संरक्षण तथा विकास समिति’ गठन गरी परिचालनमा ल्याउन आवश्यक छ ।
कतिपय मानिसहरू सनातन धर्मलाई, संस्कृतिलाई कुनै एउटा आफूलाई मन परेको वा नपरेको सम्प्रदाय, पन्थ वा पद्धति मात्र बुझ्दछन् र यसको महत्त्व देख्दैनन् । यिनलाई व्यापक अर्थमा बुझ्दा यिनमा जीवनको सार वा जीवन पद्धतिका आधार भेटिन्छन् । यिनले भौतिक कार्यसम्पादनका लागि मानिसमा मनोवैज्ञानिक संरचना उभ्याएको हुन्छ । यही मनोविज्ञानको तरलता नै अध्यात्म हो । यही तरलतामा बग्नेहरू अध्यात्मवादी बन्दछन् भने यसलाई संरचनामा ढाल्नेहरू आध्यात्मिक वा अध्यात्म विज्ञानी बन्दछन् ।
यी आधारहरूको विकास तथा व्यवस्थापनको लागि बलियो, भरपर्दो राष्ट्रिय स्तरको संरचना अत्यन्त आवश्यक छ । यसलाई ‘राष्ट्रपति संस्कृति संरक्षण तथा विकास समिति’ वा यस्तै कुनै नामको संरचना बनाउन उपयुक्त हुन सक्दछ ।
सबै धार्मिक तथा सांस्कृतिक विविधताको बीचमा एकता कायम गर्न संस्थागत पहलकदमी हुनु राष्ट्रका लागि लाभदायी नै हुनेछ । यस्तो संस्थागत संरचनाको माध्यमबाट देशभित्र रहेका अनेकौँ धार्मिक तथा सांस्कृतिक स्थलहरूको सामाजिक तथा शास्त्रीय उत्खननमा ठुलो काम अघि बढाउन सकिनेछ । यसो हुँदा नेपालमा प्रचलित भिन्न भिन्न धर्म, संस्कृतिहरूलाई समन्वय गर्न सम्भव हुने देखिन्छ । यी क्षेत्र राज्यको लगानीका मात्र क्षेत्र नभई योगदानका क्षेत्रका रूपमा समेत उठ्न सक्ने सम्भावनाका क्षेत्र हुन् ।
प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार ९ : ०८ बजे
प्रतिक्रिया