‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सडक र यातायात सुरक्षित बनाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक र सार्वजनिक यातायातलाई सुरक्षित बनाउन निर्देशन दिनुभएको छ । अहिले वर्षायाम रहेको र विभिन्न स्थानमा सडक खाल्डा पर्ने, पहिरो जाने जस्ता समस्या भइरहेकाले त्यसबाट सडक र यातायात सुरक्षित बनाउन उहाँले निर्देशन दिनुभएको हो । 

संघीय राजधानी काठमाडौंका सडकको अनुगमन गर्दै उहाँले सडकलाई खाल्डाखुल्डी रहित बनाई सुरक्षित बनाउन मन्त्रालयका सचिव तथा सडक विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । शुक्रबार कमलादीस्थित टुकुचा खोलाको धसिएको कलभर्ट अनुगमनका लागि पुग्नुभएका मन्त्री दाहालले उक्त समस्याको कारण पहिचान गरी दिगो समाधान गर्न निर्देशन दिनुभयो ।

यस्तै राजधानीका विभिन्न सडकहरूमा खाल्डाखुल्डी पर्ने गरेको भन्दै ती समस्या समाधान गरी सहज यातायात व्यवस्थापनमा लाग्न समेत उहाँले निर्देशन दिनुभएको हो । 

सडक तथा सडक किनारामा खाल्डाखुल्डी हुन नदिन र भएकालाई तुरुन्तै पुर्ने व्यवस्था मिलाउन उहाँको निर्देशन थियो ।

मन्त्री दाहालसँगै अनुमगनमा पुग्नुभएका मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक रामहरि पोखरेलले संघीय राजधानीका सडकहरूलाई सुरक्षित बनाउन मन्त्रालय र विभागले प्राथमिकता सहित काम गरिरहेको बताउनुभयो । 

यसैगरी देशका अन्य भागमा समेत बाढी, पहिरो, डुबान लगायतका कारण सडक अवरुद्ध भएमा तुरुन्तै खुलाउन सक्ने गरी जनशक्ति तथा उपकरण परिचालन गरिएको उहाँहरूको भनाइ थियो । 

यसअघि मन्त्री दाहालले काभ्रेपलाञ्चोकको सूर्यविनायक–धुलिखेल सडक खण्डअन्तर्गत बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको समेत अवलोकन गरी त्यहाँको समस्या समाधानका लागि सम्बोधन गर्नुभएको थियो ।

त्यस क्रममा उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी समेत लिनुभएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : २९ बजे