‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कमरेड, कमजोरी समयमै सच्याउने कि ?

जबजको सांस्कृतिक आदर्श नामको कृतिको अन्तिम परिमार्जन गरिरहेको बेला कतिपय एमाले नेताका गैरमार्क्सवादी अभिव्यक्तिबाट झड्का पर्‍यो र मेरो एकाग्रता भंग भयो । वर्तमान गठबन्धन लगायत एमाले पार्टी र यसको नेतृत्वको सरकारले गरेका यावत् जनपक्षीय कामका बारेमा अधिकांश नेता कुहिराको काग बनेको दखियो । त्यसैले यस विषयमा लेख लेख्न बाध्य भइयो । 

एक टेलिभिजनमा एक केन्द्रीय सचिवस्तरका नेताले महासचिव शंकर पोखरेलले व्यक्त गरेका अभिव्यक्तिमै कटाक्ष गरे । शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड प्रतिशत बढाउने लगायत संविधान संशोधनका विषयमा बोलेका यथार्थ सत्य अभिव्यक्त गर्नुभएको थियो । तर ती नेताले ती कुरालाई कुरालाई मित्रवत् चर्चा नै गरेनन् । ती नेताले त निर्वाचन प्रणाली ठीक छ, बरु आफैँ बहुमतको सरकार सञ्चालन गर्न नसकेर नाच्न जान्दैन आँगन टेडो भने झैँ गर्न हुन्न पो भन्दै  थिए ।परोक्ष रूपमा तिनी  विगतमा दुई तिहाइ नजिकको सरकार टिकाउन नसकेको र संसद् विघटन सही नभएको आशय व्यक्त गर्दै थिए । 

बाहिर ओलीको पक्षपोषण गरेजस्तो गर्दै तिनी सार रूपमा मुलायम कटाक्ष गर्दै थिए । अर्का एक थरी एक एमाले नेता स्पेस संवाद टेलिभिजनमा बंगलादेशको वर्तमान हालत त्यहाँकी प्रधानमन्त्रीले पार्टीमा नै निरंकुश र स्वेच्छाचारी शासन गरिन् । त्यसको परिणाम अहिलेको बंगलादेशको परिस्थिति हो भन्दै एमाले पार्टीलाई त्यही शैलीमा पार्टी सञ्चालन गर्न खोजियो भने समस्या यहाँ पनि दोहोरिन सक्छ भन्दै थिए । उनले सदा भातका पछिपछि दगुर्ने भाटहरूले पार्टी र देश दुवै जोगाउन सक्तैनन् भन्ने मननीय कुरा पनि गरे । उनले रुसी कम्युनिस्ट पार्टीमा एक करोड सक्रिय कार्यकर्ता भए पनि तिनले देशलाई संकटबाट जोगाउन सकेनन् पनि भने । बोल्ने क्रममा उनले एमाले पार्टी र सरकारले गरेका आशालाग्दा उदाहरणीय कामको सामान्य चर्चासम्म गरेनन् । उनी सबै जोगी कनचिरालाई मलजल गर्ने खालका भएको आशय व्यक्त गर्दै थिए । उनले आफ्ना विगतका गम्भीर कमजोरी छोप्दै आफू कर्मठ, क्रियाशील र इमान्दार रहेको आफैँ उद्घोष गर्दै थिए । 

पटकपटक मन्त्री हुँदा पनि कतिपय नेताको चित्त बुझको छैन । दसबुँदे र बाह्रबुँदेका नाममा अझै सरकार, सत्ता र सम्पत्तिमा अपहत्ते गर्नेले पार्टीलाई कति थाम्लान् हेरेर मात्र भन्न सकिने भयो । पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने अनेक रसायन भए पनि तिनलाई उपयोग गरिएको देखिन्न । 

सामान्य रूपमा नेता र कार्यकर्ताको मन राखेर काम नगर्दा लुम्बिनी प्रदेशमा साह्रै चित्त दुखाइ रहेको थाहा पाइयो । अझ प्रदेश, जिल्ला र नगर अधिवेशनको निर्वाचनमा जित र हारको विषय स्वाभाविक नठानी त्यो ऐनमौकामा बल्झिने खतरा देखिन्छ । 

अहिले त प्रायः नेता र कार्यकर्ता विभिन्न तहका सरकारको कुर्सीलाई अर्जुनदृष्टि लगाएर बसेको स्थिति छ । अध्यक्षकै निर्देशन माने जस्तो गर्ने तर नमान्ने लबस्तरोपारा पनि  देखिन्छ । तिनलाई बेलैमा राम्रो ओखती गर्नु जरुरी छ । पार्टीका सबै कामको अनुगमन माथि पनि अनुगमन गर्नु अपरिहार्य छ । जनजाति र खसआर्यमै पनि चरम जात, भात, नाक र नश्ल तथा थर, गोत्र ग्रन्थि नेता माथिल्लै तहमा प्रकट भएका छन् । 

२०५१ तिर कार्यकर्ता र नेताको  गुणस्तर हेरेर निष्पक्ष रूपमा जिल्लामा मनोनीत गरिन्थ्यो । यसैले म आफैँ पनि सुनसरीको जिल्ला सदस्य र जिल्लाको कम्युनिस्ट आन्दोलनको अध्ययन कार्यदलको प्रमुख भएको थिए र पछिल्लो अवधिमा कोशी प्रदेश संस्कृति विभाग प्रमुख थिएँ । तर संस्कृति विभाग र जनसांस्कृतिक विभागका बीच खासै फरक नदेख्ने तत्कालीन प्रदेश अध्यक्षका कारण एक सिन्को काम अघि बढाउन सकिएन । अहिले त संगठित सदस्य बन्न, नगर सदस्य र जिल्ला सदस्य आदि बन्न अमुक नेताको नसनाता र केही नभए गोरु बेचेको साइनो पर्नुपर्ने जस्तो तिक्त अवस्था देखिन्छ ।  क्रियाशील हुने उमेर र मन छ/भए पनि सेवाभावले काम गर्नै नपाइने हो कि भन्ने परेको छ । 

हालै पार्टी उपाध्यक्ष हुनुभएका स्रष्टामैत्री, जनमैत्री, पठनमैत्री तथा देश र जनताका लागि अहोरात्र खट्ने एक मिलनसार उदाहरणीय नेता गुरु बरालजस्ता थपिँदै गए भने पार्टीको गति र मति तल तलसम्म ठीक हुन्थ्यो जस्तो लाग्छ । उहाँसित केही दिनअघि केन्द्रमा ज्येष्ठ कम्युनिस्ट मञ्च आजका दिनसम्म पनि गठन नभएकामा व्यर्थको चिन्ता जाहेर गरेको थिएँ । होचो ठाउँमा बसेर ठूला कुरा गर्न पनि सुहाउँदो रहेनछ, कुरा बिक्ने ठाउँ नपाउँदा कसले पत्याउने किन पत्याउने ? बलेको आगो ताप्ने जमानामा ।  

एमाले  प्रचार, प्रसार र सञ्चार त हात्तीको मुखमा जिराझैँ छ । एमाले र ओलीविरुद्ध चारैतिरबाट सबै जोणकोण मिलाएर स्यालहुइय्याँ मच्चाइएको छ । तर यतातिर नाजवाफ छ, मौन छ, हात बाँधेर ढुक्कले बसेको टिठ लाग्दो अवस्था छ । सूचना र सञ्चार भनेको समाचार लेख्नु, प्रेस वक्तव्य प्रकाशन गर्नु र श्रव्यदृश्य मिडियामा म्याउम्याउ गर्नु मात्रै होइन । एमाले हुँ भन्नेले सञ्चालन गरेका कतिपय अनलाइनहरू नाम मात्रका देखिन्छन् । तिनले सांस्कृतिक रूपान्तरण गर्ने खालका समाचारसमेत छाप्तैनन् । पत्रिका र पत्रकारको पनि परोक्ष वर्ग पक्षधरता हुन्छ भनेर तिनलाई कसले प्रशिक्षण दिने हो थाहा भएन । तिनीहरुसित लेखकमैत्री नै के हो थाहा नभएझैँ लाग्छ ।
 
प्रचार कलाका सबै बना र बान्की उपयोग गर्दा यसले दुष्प्रचारलाई ठाउँको ठाउँ धर्धरी च्यातिदिन सक्छ । विश्व प्रसिद्ध आततायी तथा कसैसित पनि नडराउने हिटलरले यही सभाको पछिल्लो लहरमा बस्ने लुरे पत्रकारदेखि भने डर लाग्छ भनेका थिए । यहाँ पत्रकार भनेको लेखक पनि हो तर अहिलेसम्म प्रेस चौतारीले एउटासम्म अब्बल लेखक जन्माएको मलाई थाहा छैन । शिरदेखि तीरसम्म कार्यकर्ताको मात्र पहिचानमा रमाएर कुनै पनि क्षेत्रको प्राज्ञिक व्यक्ति बन्न सक्दैन,सकिँदैन । 

विकट र विकटतम क्षेत्रमा अहिले भित्तेलेखन वा प्रचार आवश्यक  देखिन्छ । कवि, कलाकार, साहित्यकार, गीतसंगीतका माध्यमबाट पनि गुरुगम्भीर रूपमा प्रचारकै काम हुन्छ भन्ने तत् सम्बन्धी विभागलाई थाहा हुनुपर्‍यो नि ! यो प्रचार  र प्रभाव पक्षबारे जान्दा जनतालाई लट्ठै पार्न पो सकिन्छ त ! सबै मोर्चा संगठन मिलेर सुमधुर प्रगतिशील सांस्कृतिक अभियान देशव्यापी सञ्चालन गर्दा यसले आजसम्मका एमाले सरकारका सबै जनहितका कामहरू कलात्मक रचनामार्फत प्रवाहित गर्न सकिन्छ । यसपालि काठमाडौँमा भएका भानु जयन्तीलगायत अनेक कार्यक्रममा सहभागी हुँदा धेरैजसो स्रष्टा, बुद्धिजीवी, प्रगतिशील प्राध्यापकहरूबीच अन्तर्किया गर्ने अवसर मिल्यो । तर धेरैजसोमा प्रगतिशील चेत र चिन्तन कमजोर रहेको देखियो । राष्ट्रिय जन साँस्कृतिक महासंघ आबद्ध सबै घटकका अगुवाहरूलाई मार्क्सवादी प्रगतिशील तथा जबजसम्बन्धी सांस्कृतिक चेत जगाउने प्रशिक्षण गरे तिनले कम्तीमा मृत आत्माको चिर शान्तिको कामना गर्ने थिएनन् । मुख भए मुलुक पाइन्छ । त्यसैले लिखित वा मौखिक रूपमा अभिव्यक्त गर्ने सबै जोणकोण कलात्मक प्रस्तुति गर्ने हो भने एमाले ओली विरुद्धका तमाम फरेवहरू सय थुकी नदी झैँ बगाउन सकिन्छ । चामल बेच्ने कला नहुँदा एमाले अहिले पनि समस्याग्रस्त देखिन्छ । टिके प्रधानमन्त्री बनाएको कुरामा खासै आलोचना नगर्ने एमाले दुईदुई पटक संविधान सभा विघटन गरेकामा बुरुक्क उफ्रिन्छन् र भित्रभित्र सबै जोगी कनचिरा भन्छन् । ओली सरकारले के चाहिँ गर्‍यो सबै उस्तै भन्ने प्राध्यापक, बुद्धिजीवी र स्रष्टा मनग्गे भेटिए । कुनै पनि मोर्चा र विभागको प्रमुख एकजना त बौद्धिक र वैचारिक हुनु नि, छैन । यतिका धेरै सकारात्मक पक्षहरू विचार र विकासहरू छन् तर तिनलाई सूक्ष्म रूपमा मातहतलाई घैँटामा घाम लाग्ने गरी भन्न सक्नुपर्ने हो । 

त्यसैले पार्टीले देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ र संगठित रूपमा प्रचार अभियान परिचालन गर्नैपर्छ । काइँयो र कुचाले झैँ बढार्ने हो भने एमालेभित्रका ढलपल भएका उपल्ला एमाले तथा निर्वाचनमा हार व्यहोरेर खिन्न मन भएकाहरू समेत मत्थर हुनेछन् । यसका लागि पार्टीले गरेका उपलब्धि र प्राप्ति सबै एक पुस्तिकामा प्रकाशित गर्नुपर्छ । अनि मात्र व्वाइलर कुखुराले चारो पाउँछ र खान्छ । 

सबै एमालेजन आफैँ चिन्तक, प्रचार, प्रसारक लेखक, संगठक र जनपरिचालक नभएसम्म मिसन–८४ परिणाममुखी हुन सक्तैन । कुलमान घिसिङ अहिले पनि मोटो आर्थिक लगानी गरेर आफ्ना हित र पक्षमा लेख लेखाउने र प्रचार गर्ने आदि अनेक कृत्य गरिरहेका छन् । विकृति र विसंगतिलाई चारैतिरबाट विविध कला र बान्कीको आवश्यक पर्दा आक्रामक प्रचार प्रसारको घेरा बन्दीमा विपक्षलाई पार्नुपर्छ । पार्टी सिद्धान्त नेताले मात्र जानेर हुँदैन सबले जान्नुपर्छ ।   

शीतल छहारी दिने रुखका हाँगा काटे पनि उक्त रुखले शीतलता दिन छाड्दैन भने झैँ अवस्था देखिन्छ । नेका र एमाले गठबन्धनमा बनेको सरकारका बारेमा पनि एमाले नेता र अगुवा कार्यकर्ता कुहिराको काग बनेको देखिन्छ । नक्कली भुटानी हुन् वा अरु, प्रमाणित अपराधी त कहिल्यै लुक्तैन । यसलाई लुकाउन एमाले सरकार प्रमुख भएको भ्रममा पर्नु जरुरी छैन र होइन । पीपलले अलिकति ठाउँ भेट्यो भने उम्रिन्छ र झाँगिन्छ भित्तो नै भत्काउँछ । एमाले जहिल्यै जति मौका पाउँछ, त्यसलाई देश र जनताका हितमा भरपूर  सदुपयोग गर्छ र गरेको छ । यही उच्च विचारका साथ एमाले यो सरकारमा गएको हो । ऐतिहासिक  धरहरालाई सेतो टावर भन्नु, त्यसलाई चालु नगर्नुको गुह्य अर्थ एमाले र ओलीले सम्पन्न गरेका र सुरु गरेका कामहरू असरल्ल पार्ने र उल्टो खुइल्याउने विरोधीको षड्यन्त्र हो । यति कुरा नबुझेर बालेनलाई वाह वाह भन्नु दरिद्रता सिवाय केही होइन । प्रसिद्ध राजनीतिक विश्लेषक अरुण सुवेदीलेसमेत टुप्पाबाट पलाएका र नाम कमाउन असन्तुष्टिको भेलबाढीमा खुलेका बालेन र रास्वपा पार्टीको असलियत उजागर गरेका छन् । यतिका विविध उमेर समूहका प्रतिभाशाली व्यक्तिहरू पार्टीमा हुँदा ती प्रतिभालाई बहुआयामिक रूपमा परिचालन गर्न सक्नुपर्छ । त्यस ढंगले परिचालित हुन कडाइ गर्नु अपरिहार्य देखिन्छ । संगठनमा राजीखुसी बसेपछि सिर्जनात्मक रूपमा जिम्मेवारी पूरा गर्नैपर्ने बाध्यात्मक स्थिति बनाउनु पनि जरुरी हुने देखिन्छ । सूर्य समानको तेज छ तर धिपधिप गर्छ भने के काम लाग्यो ?
 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १ : १३ बजे