‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३०औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै आजको दिनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“हाम्रो देश सबैको साझा फूलबारी हो । नेपालमा आदिवासी जनजातिको ठूलो संख्या छ । त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो । कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ । आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ ।

प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ । आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुवालुङदेखि मांसेबुङलगायत पवित्रस्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उहाँहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताउनुभएको छ ।

आदिवासीका धार्मिक धरोहरको  संरक्षण र संग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै  विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ।
 

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ११ : २१ बजे