‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दलहरू जनादेशमा उभिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशमा दलहरू उभिनुपर्ने बताउनुभएको छ । 

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटी पर्यटन व्यवसाय विशेष इलाका कमिटीद्वारा बुधबार आयोजित पार्टी प्रवेश प्रशिक्षण, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जनादेशमा उभिन नसक्ने हो भने फेरि जनताको बीचमा जानुपर्ने बताउनुभयो ।

पोखरेलले जनताले कुनै पनि हालतमा विभाजन नस्विकार्ने बताउँदै एमाले बनाउने नै म हुँ भन्ने माधव नेपाललाई गएको निर्वाचनमा देखाइदिएको सुनाउनुभयो । 

प्रचण्डले राष्ट्रिय सहमतिको नाममा फेरि माधव नेपाललाई बोकेर एमालेलाई एक्लाउन खोजेपछि कांग्रेस एमालेको समीकरण बनेको पोखरेलले प्रष्ट पार्नुभयो ।

‘साना दलले मुलुकलाई आफ्नो स्वार्थको लागि नचाउने परिपाटी सधैँका लागि अन्त्य गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिक स्थायित्व सुनिश्चितताका लागि आवश्यकता पर्दछ भने संविधान पनि संशोधन गर्ने, कानुन संशोधन गर्ने, साना दलको सौदाबाजीबाट मुलुकको राजनीतिलाई मुक्त गर्ने अठोटका साथ हामीले सहकार्य सुरु गरेका छौँ, यसबाट व्यावसायिक क्षेत्रमा उत्साहित वातावरण सिर्जना भएको छ, मानिसको मनोबल बढेको छ’, उहाँले भन्नुभयो ।  

अहिले मुलुकमा हरेक क्षेत्रमा निराशा फैलाउने प्रयत्न भइरहेको पोखरेलले बताउनुभयो । आशाले मानिसलाई अघि बढाउने र निराशाले समाप्त पार्ने उहाँको धारणा छ, ‘निराशा भनेको पतनको कारण हो’, उहाँले भन्नुभयो । 

पोखरेलले कांग्रेस र एमाले साना दलले साना दलले मुलुकलाई बन्धक बनाएका कारण देशलाई त्यसबाट मुक्त गर्न मिलेको बताउनुभयो । देशमा स्थिरता र स्थायित्व दिन, संविधान संशोधन गर्न, निराशा चिर्न र देशलाई निकास दिन कांग्रेस एमाले मिलेका उहाँले स्पष्ट पार्नुभयो । एमाले र कांग्रेस अहिले मिलेका भए पनि दुई प्रतिस्पर्धी पार्टी भएकोमा कुनै द्विविधा नभएको पोखरेलले बताउनुभयो । ‘भविष्यको यात्राका सन्दर्भमा हामी दुईवटा पार्टी लामो यात्राका प्रतिस्पर्धी हौँ’ उहाँले भन्नुभयो ।  

प्रचारवादले कुनै पनि समस्याको निकास दिन नसक्ने बताउँदै पोखरेलले कुनै पनि समस्याको समाधान नीतिगत र वैचारिक हिसाबले खोज्नुपर्ने बताउनुभयो । त्यसो नगर्दासम्म मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान नसकिने पोखरेलले धारणा राख्नु भयो । 

उहाँले बंगलादेशमा भएको घटनाबाट उद्वेलित नहुन पनि आग्रह गर्नुभयो । बंगलादेशमा अहिले भएको घटनाले कुनै निकास दिन नसक्ने पोखरेलले स्पष्ट पार्नुभयो । 

नेपालमा अहिले निराशा होइन आशाको अवस्था रहेको पोखरेलले बताउनुभयो । जे चिजले अघि बढ्न सहयोग पुग्छ त्यही चिज नेपालमा रहेकोले भविष्यप्रति आशावादी हुने प्रशस्त ठाउँ रहेको उहाँको भनाइ छ । ‘मुलुकको समृद्धि आशाबाटै सुरु हुन्छ, निराशाबाट होइन, त्यस कारण हामी आशा जगाउने अभियानमा छौँ’, उहाँले भन्नुभयो । 

पोखरेलले नेपालको पर्यटन क्षेत्रका भविष्य अति राम्रो भएको बताउँदै त्यसको लागि सबै क्षेत्रका समानुपातिक विकास आवश्यक रहेको बताउनुभयो । आर्थिक, सामाजिक क्षेत्रको विकास नभई पर्यटन क्षेत्रको मात्रै विकास हुन सक्दैन भन्ने कुरा बिर्सन नहुने पोखरेलले प्रष्ट पार्नुभयो  । 

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १२ : ३८ बजे