‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओली र राष्ट्रसंघका आवासीय प्रतिनिधि सिंगरबीच शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकांक्षाका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुंग्याउने तयारी भएको र यस्ता सवालमा राष्ट्रसंघको सदवै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

आवासीय प्रतिनिधि सिंगरले नेपालका विकास र समृद्धिका क्षेत्रमा राष्ट्रसंघको निरन्तर साथ रहने विश्वास दिलाउनुभयो । राष्ट्रसंघले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि राष्ट्रसंघीय नीति बमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ४ : १८ बजे