‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमाले उत्रियो मिसन ८४ को मैदानमा  

काठमाडौँ । नेकपा एमालेले मिसन ८४ लाई लक्षित गर्दै पार्टी पक्ति परिचालन गर्ने भएको छ। सो पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्न मातहत कमिटीलाई  परिचालन गर्ने निर्णय गरेको छ । 

यसैगरी पार्टीका आठ प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । 

एमालेद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि)–१० मा प्रदेश अध्यक्षलाई पार्टीको जिम्मेवारीबाट एक तहमा घटुवा गर्दै पदेन केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो । यसअघि प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्य सरहको जिम्मेवारी दिइएको थियो  । 

प्रदेश कमिटीका अध्यक्षहरूलाई पदेन पोलिटब्युरो सदस्यको मान्यता दिएको पार्टीले अहिले एक तहमा घटुवा गरेका हो । 

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको जिम्मेवारी एकै पटक पोलिटब्युरो सदस्य दिन नमिल्ने भएपछि केन्द्रीय सदस्यमा राखिएको बताउनुभयो ।

“कुनै पनि पार्टीको जिम्मेवारलाई एक तहमाथि राख्न मिलेन । संगठनको संरचना अनुसार प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी र पदाधिकारी हुन्छ,” उहाँले भन्नुभयो, “प्रदेश अध्यक्षपछि पोलिटब्युरो नभई केन्द्रीय सदस्य हुने भएकाले प्रदेश अध्यक्षलाई केन्द्रीय सदस्य बराबरको हैसियत प्रदान गरिएको हो ।”

यसरी घटुवा हुनेहरूमा कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेश प्रदेशका चन्द्रेश्वर मण्डल, वागमती प्रदेशका कैलाश ढुंगेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल रहनु भएको छ । 

यस्तै कर्णाली प्रदेशका गुलावजंग शाह, सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी, उपत्यका विशेष कमिटीका प्रेमकुमार पराजुली पनि एक तह घटुवामा पर्नु भएको छ । 
 

तीनजनालाई केन्द्रीय कमिटीबाट बिदा
एमालेले तीनजनालाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । पुरनसिंह दयाल (बैतडी), मैना भण्डारी (गुल्मी) र तारा राई (मोरङ) लाई जिम्मेवारीबाट मुक्त गरिएको हो । दयाल भूगोलमा काममा खट्न समस्या, भण्डारी बिरामी र राई विदेश भएकाले हटाएको अन्तरपार्टी निर्देशनमा जनाइएको छ । 

विभागको कामलाई प्रभावकारी बनाइने 
राज्यसम्बद्ध विभागहरूलाई सरकारको  कामसँग जोडेर परिचालन गर्न सुरु गरिएको उल्लेख गर्दै तर प्रदेश र जिल्ला तहमा अपवाद बाहेकका विभागका कामहरू अझै प्रभावकारी नभएका गुनासाहरू सुनिने गरेको अपानिमा भनिएको छ । 

केन्द्रमा मात्र रहने विभाग बाहेकका अन्य विभागहरू प्रदेश र जिल्लाले आवश्यकता अनुसार गठन गर्न पाउने गरी यसअघि नै नीतिगत निर्णय भइसकेकोले प्रदेश र जिल्लामा पनि विभाग गठन गर्न उल्लेख गरिएको छ । 

एमालेले प्रदेश र जिल्ला तहमा गठन भएका विभागहरूका सन्दर्भमा प्रमुख र सदस्यहरूको नाम तथा फोन नम्बरसहितको कामको रिपोर्ट केन्द्रीय कार्यालयमा एक महिनाभित्र पठाउने निर्देशन दिएको छ । 

प्रदेश र जिल्ला कमिटीमा निर्वाचित भएका सदस्यहरू केन्द्रीय विभागमा रहेको भए केन्द्रीय विभागबाट बिदा दिन भनिएको छ । एमालेले कार्यकर्ताको व्यवस्थापनका दृष्टिकोणबाट पनि विभागहरूलाई विस्तार गर्नु र क्रियाशील बनाउनुपर्ने भएको छ । 

मिसन ८४ लाई सफल बनाउन केन्द्रीय सदस्यलाई प्रतिनिधि र प्रदेश सभा इन्चार्ज
एमालेले निर्वाचन क्षेत्र समन्वय कमिटीलाई मिसन ८४ लाई केन्द्रित गर्न भएको छ । सोही अनुसार सचिवालय बैठकले ठुलो संख्यामा केन्द्रीय सदस्यहरूको जिम्मेवारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको इन्चार्ज बनाएको हो । 

एमालेले निर्वाचन क्षेत्र समन्वय कमिटीको कामलाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि संयोजक र सचिव तोक्ने अधिकार विधानतः जिल्ला कमिटीलाई प्रदान गरेको छ  । 

एमालेले निर्वाचन क्षेत्र समन्वय कमिटीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजक र सचिव पर्याप्त समय दिन सक्ने अगुवा र क्रियाशील सदस्यहरूमध्येबाट जिल्ला कमिटीले तोक्ने भएको छ ।  निर्वाचन क्षेत्र समन्वय कमिटीमा पदेन सदस्य संख्याको २० प्रतिशत सदस्य जिल्ला कमिटीले मनोनयन गर्न सक्ने, आफूमध्येबाट एकतिहाइ नबढ्ने गरी सचिवालय गठन गर्न सक्ने जनाइएको छ । 

अपानि जारी गर्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय कमिटीका अधिवेशनहरू सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ  ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : २६ बजे