‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेशमा सैनिक नेतृत्वको  सरकार आन्दोलनकारीलाई  अमान्य 

 काठमाडौं। बंगलादेशमा नयाँ सरकार गठनको तयारी हुँदै गर्दा विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो अस्वीकार्य हुने बताएका छन्।

उनीहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन्।

पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना ब‌ंगलादेशबाट पलायन भएपछि सोमवार सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए ।

त्यसपछि साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गर्नुभएको थियो ।
राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिनुभएको छ।
सेनाप्रमुख जेनरल वकार उज–जामनले मंगलवार विद्यार्थी नेताहरूसँग भेट गरिरहनुभइको छ।

ब‌ंगलादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन् ।
हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल ब‌ंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ।
बीएनपीका अनुसार बेगम खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गर्नुभएको छ।

विद्यार्थी नेताहरूको माग के हो
सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएका भए पनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ।
विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गरेका छन् र तत्काल संसद् विघटन गर्न माग गरेका छन्।
ब‌ंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडिओ सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन् ।

“हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन,“ विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडिओमा भन्नुभएको छ ।

उहाँले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भने, “हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ।“ विद्यार्थी नेताहरूले स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्मको समयसीमा तोक्दै संसद् भङ्ग गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन्।

उनीहरूले आफ्ना मागहरू पूरा नभए “कडा कदम“ चाल्ने चेतावनी दिएका छन्।
“हामी देशका विभिन्न स्थानमा भइरहेका आगजनी र साम्प्रदायिक हिंसाका घटनाहरूको भर्त्सना गर्छौँ।… यो आन्दोलन आफ्नो अधीनमा पार्न सक्ने मानिसहरूलाई रोक्न हामी तयार हुनुपर्छ,“ उनीहरूले भिडिओमा भनेका छन्।

उनीहरूले आफूद्वारा प्रस्तावित अन्तरिम सरकारमा समाविष्ट हुने व्यक्तिहरूको नाम चाँडै सार्वजिनिक गरिने बताएका छन् । 

ग्रामीण बैंक स्थापना र लघुवित्त अवधारणाको थालनी गरेकाले युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। उहाँ  ८४ वर्षको हुनुहुन्छ।

उहाँको अवधारणाले दशौँ लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ।
हसिनाले बारम्बार युनुस “गरिबहरूलाई चुस्ने परजीवी“ भएको र उनले गरिबहरूलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाएकी थिइन्।
गत जुन महिनामा ब‌ंगलादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर गरेको थियो।
बीबीसी नेपालीबाट 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : २७ बजे