बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण

परासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 

बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो । यसअघि यहाँका बासिन्दाले टुकीको भरमा जीवन बिताइरहेका थिए । विद्युतीकरणको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गर्नुभएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट रु ८५ लाख ९१ हजार २०३ र नगरपालिकाको रु नौ लाख ७८ हजार ७४६ लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३० घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको छ । उनीहरुलाई बिजुली मिटर पनि निःशुल्क जडान गरिएको छ ।

प्राधिकरणका अनुसार संसारकोटमा ३.२ किलोमिटर एचटी लाइन निर्माण गरी ७५ थान फलामको पोल प्रयोग गरिएको छ भने एलटी लाइन ०.७५ किलोमिटर निर्माण गर्न १५ थान फलामको पोल निर्माण गरिएको छ । बाँसखोलामा तीन किलोमिटर एचटी लाइन निर्माण गरी ७३ थान सिमेन्टको पोल प्रयोग गरिएको छ भने एलटी लाइन १.१ किलोमिटर निर्माण गरी २० थान सिमेन्टको पोल प्रयोग गरिएको छ ।

यस स्थानमा विद्युतीकरणका लागि आवश्यक ट्रान्सफरमरलगायत लाइन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी देवान गुरुङले बताउनुभयो । यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही वर्षअघि बिजुलीको पहुँच पुगेको थियो । अब पटुके, बिहारीलगायतका बस्तीमा विद्युतीकरणको सेवा पुग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

रासस

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १२ : १९ बजे