‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पानीजहाज र रेलमार्गमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रूपान्तरित गर्ने विषयलाई प्राथमिकता दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले  साेमवार ती विषयमा जोड दिनुभएको हो । 

प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालन गर्ने योजना ल्याउन निर्देश गर्नुभयो । 

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गर्नुभयो । 

पानीजहाजबाट सीमापारदेखि सामानहरू ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरू पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उहाँको भनाइ थियो । 

प्रधानमन्त्रीले भन्नुभयो– पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔं, भिसा सेन्टर खोलौं । ठुला भन्सार पनि खोलौं । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी÷इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले पानीजहाजसँगै अब रेल यातायातमा पनि जानुुपर्ने उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो– हाल सञ्चालित कुुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुुपर्छ । पूर्व पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुुपर्छ ।
प्रधानमन्त्री ओलीले पूर्व पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरू पनि गुहाटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली, हरिद्वारसम्म पुग्नसक्ने बताउनुुभयो । 

उहाँले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनाहरू स्तरीय ढंगले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको माग अनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढी भन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भए पनि पछिल्लो समय  नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको विचार व्यक्त गर्नुभयो । 

मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको बताउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो– गएको दशक (७० देखि ८० सम्म) राजनीतिक परिवर्तनको दशक मात्रै होइन, आर्थिक विकास उन्नतिको दशक भयो । केही गरे पनि चित्त नबुझाउने एउटा कुरा हो । केही पनि भएन भनेर कराउने मान्छे छन् । पछिल्लो समय हिँड्न लायक बाटोको अभियान चल्यो, विद्युतको अभियान चल्यो । आइटीको सेक्टरमा अभियान चल्यो । देशभर अप्किल फाइबर बिछ्याउने काम भयो । जसले गर्दा फोरजी सेवा पुग्यो । हरेक क्षेत्रमा विकास भएको छ । 

प्रधानमन्त्री ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिनुभयो । थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो । रणनीतिक महत्त्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै प्रधानमन्त्री ओलीले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : २० बजे