साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बंगलादेश तनाव : कस्ले बनाउँदै छ अन्तरिम सरकार ?

​​​​​​​​​​​​​​बंगलादेश । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको विवरण आएसँगै त्यहाँका  सेनाप्रमुखले देशवासीका नाममा सम्बोधन गर्दै अब एउटा अन्तरिम सरकार गठन गरिने बताउनुभएको छ । 

प्रधानसेनापति वकर उज्जामनले आफू राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग भेट गर्न जाने बताउँदै चाँडै कुनै ‘समाधान’ हासिल हुने बताउनुभयो । 

 यसबैबीच बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले तत्काल अन्तरिम सरकार गठन हुने र संसद् विघटन हुने बताउनुभएको छ ।

गएराति विभिन्न देशका नेताहरूसँग छलफल पछि राष्ट्रपति शहाबुद्दीनले अन्तरिम सरकारले समयअगावै चुनाव गराउने प्रतिबद्धता गनुभएको हो । 

राजनीतिक नेताहरूसँगको छलफलपछि विभेदविरोधी आन्दोलनका पीडितको सम्झनामा शोक प्रस्ताव पारित गरिएको छ। सबै दल र सरोकारवालासँग परामर्श गरेर बनेको अन्तरिम सरकारले जतिसक्दो चाँडो निर्वाचनको व्यवस्था गर्ने राष्ट्रपतिको प्रतिबद्धता छ।

विभिन्न झुटा मुद्दा र भेदभाव विरोधी विद्यार्थी आन्दोलनको क्रममा हिरासतमा रहेकासहित सबै बन्दीहरूलाई रिहा गरिने उहाँको प्रतिबद्धता छ।

विभेदविरोधी विद्यार्थी आन्दोलनका पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका लागि सम्पूर्ण सहयोग उपलब्ध गराइने उहाँको भनाइ थियो। यस्तै विपक्षी दल बीएनपीकी अध्यक्ष खालिदा जियालाई रिहा गर्ने सर्वसम्मत निर्णय भएको छ।

राष्ट्रपति शहाबुद्दीनले देशभरका सबै कार्यालय र अदालतहरू आजदेखि सामान्य रूपमा सञ्चालन हुने बताउनुभएको छ । यता विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको खाका बताएका छन्।

विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदारले एक भिडियो सन्देश जारी गर्दै उक्त जानकारी दिएका हुन्। यसअघि सोमबार राति नाहिदले आगामी २४ घण्टाभित्र अन्तरिम सरकारको खाका तयार पार्ने घोषणा गरेका थिए।

तथापि, रातभर व्यापक हिंसा जारी रहेपछि संयोजकहरूले मध्यरातमा समेत यथाशीघ्र आफ्नो अडान घोषणा गर्ने निर्णय गरे । 

सेनालाई तोडफोड रोक्न र कानून कार्यान्वयन सुनिश्चित गर्ने जिम्मा दिइएको छ। प्रधानमन्त्री शेख हसिनाले सोमबार दिउँसो देश छोडेपछि  बंगलादेशको अवस्था गम्भीर रूपमा बिग्रिएको थियो।

हसिनाको विमान सोमबार साँझ दिल्लीको हिन्डन एअरबेसमा अवतरण गरेको विवरणहरू आएका छन्। हसिना अब भारतमा नै बस्ने वा अन्यत्र जाने भन्ने अहिलेसम्म थाहा भइसकेको छैन।कतिपय स्थानीय सञ्चारमाध्यमले हसिना लन्डन जान सक्ने विवरण प्रकाशन गरेका छन्। तर त्यसको पुष्टि भइसकेको छैन।

सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरूले प्रदर्शन गर्न थालेपछि बंगलादेशमा आन्दोलन चर्किएको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए।

हसिनाको पलायनपछि धेरैले हर्षोल्लास गरेको भए पनि देशका ठाउँठाउँमा लुटपाट र तोडफोड भएको विवरण आएका छन् ।  ढाकास्थित प्रहरी मुख्यालयमा सयौँको संख्यामा लट्ठी बोकेर आएका प्रदर्शनकारीहरूले आक्रमण र तोडफोड गरेको समाचारहरू आइरहेका छन् । देशका अन्य भागका प्रहरी चौकीहरूमा पनि आक्रमण भइरहको छ।

टेलिभिजनमा प्रसारित दृश्यमा दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा प्रदर्शनकारीहरू छिरेको देख्न सकिन्छ। केही प्रदर्शनकारीले त्यहाँ लुटपाट गरेको दृश्य सार्वजनिक भएको छ। केही मानिसले कुर्सी र सोफा बोकेर बाहिर हिँडेको देखिन्छ।

प्रदर्शन गर्न सडकमा पुगेका मानिसहरू हसिना सत्ताबाट बाहिरिएपछि खुसी भएका थिए। राजधानी ढाकामा हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका थिए।

सोमवार ढाकामा भएको हिंसामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  सोमबार प्रदर्शनकारीहरूले गृहमन्त्रीको निवासमासमेत तोडफोड गरेका छन् भने सहरमा ठाउँठाउँमा लुटपाट भएको छ।

गृहमन्त्रीको निवासबाट धुवाँ निस्केको देखिएको छ। शेख हसिनाका पिता तथा स्वतन्त्र बांगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन्। बाङ्ग्लादेशको स्वतन्त्रतामा प्रमुख भूमिका निर्वाह गरेका शेख मुजिबुर सन् १९७५ सम्म देशको राष्ट्रपति थिए। त्यही समयमा उनको हत्या भएको थियो।

प्रदर्शनकारीहरूले उनको सम्मानमा निर्माण गरिएको संग्रहालयको एउटा भागमा पनि आगो लगाइदिएका छन्।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट ढाकामा हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।

हसिना पलायन भइसकेपछि आफ्नो सम्बोधनमा बंगलादेशका सेनाप्रमुखले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्दै अब नयाँ अन्तरिम सरकार गठन हुने घोषणा गरे।

हसिनाले देश छाडेपछि उनले सेनालाई विश्वास गर्न देशवासीलाई आग्रह गरे। ठूलो धनजनको क्षति भएको भन्दै उनले प्रदर्शन अन्त्य गर्न र घर फर्किन सबैलाई अनुरोध गरेका छन्।

उनले शान्ति सुव्यवस्था कायम सघाउन आग्रह गरेका छन्। उनले द्वन्द्वबाट कसैलाई फाइदा नहुने भएकाले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

नयाँ सरकार गठनका लागि सेनाप्रमुखले राजनीतिक दल र नागरिक समाजका अभियानकर्ताहरूसँग छलफल गरेको बताइएको छ।
बंगलादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्यांक  सार्वजनिक भएकाे छ । उक्त संख्या प्रहरी, सरकारी अधिकारी र अस्पतालमा कार्यरत चिकित्सकहरूबाट संकलित विवरणका आधारित छ।

विपक्षी दलहरूको बहिष्कारकाबीच गत ज्यानुअरीमा भएको निर्वाचनबाट हसिना पुनः देशको प्रधानमन्त्रीमा चुनिएकी थिइन्। तर प्रदर्शनकारीहरूले उनको सत्तालाई चुनौती दिएका थिए।

विगत १६ वर्षदेखि बंगलादेशको सत्ता हाँकेकी शेख हसिना देशका संस्थापक प्रधानमन्त्रीकी छोरी हुन्।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन्। सन् २००९ यता उनी निरन्तर सत्ताको नेतृत्व गर्दै आएकी थिइन्। उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएकी थिइन् भने कम्तीमा २० जनाको मृत्यु भएको थियो।

 एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ७ : १८ बजे