यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्रीद्वारा (फास्ट ट्रयाक) धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

बकैया ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको १ दशमलव ७२८ किमि लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो । निजगढ–कामाठाडौँतर्फको १ दशमलव १५३ किमि धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ  छिचोलिएसँगै प्याकेज नं २अन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिनुभयो । 

लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको १ दशमलव ६१२ किमि र काठमाडौँ–निजगढतर्फको १ दशमलव ६३३ किमि सुरुङ यसअघि नै खनिसकिएको छ । ३ दशमलव ३२२ किमिको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ¬ हालसम्म २ दशमलव २९ किमि तथा ३ दशमलव ३८६ किमिको काठमाडौँ–निजगढतर्फको २ दशमलव २८८ किमि सुरुङ खनिसकिएको छ । सो सुरुङ यसै वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।

प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमलव नौ ७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुने छ ।

द्रूतमार्गमा १० दशमलव तीन सय ९ किमि लम्बाइको छ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा १ किमि, सिसौटारमा ० दशमलव ३९ किमि, चन्द्राम भिरमा २ दशमलव २५ किमि, महादेव डाँडामा ३ दशमलव ३५५ किमि, धेद्रेमा १ दशमलव ६९१ र लेनडाँडामा १ दशमलव ६२३ किमि लामो सुरुङ निर्माण हुने छ ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलव ८८५ किमि ८९ वटा पुल निर्माण हुने छन् । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक-एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गर्नुभएको थियो । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । 

सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत उपस्थिति हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ४७ बजे