यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको बेग्लै रङ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको जावलाखेल पुगेर मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवलोकन गर्नुभएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसँगै उहाँले भोटोजात्रा अवलोकन गर्नुभएको हो । 

भोटोजात्रा अवलोकनपछि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको बेग्लै रंग छाएको छ ।”

सोही अवसरमा उहाँले कुमारीको पनि दर्शन गर्नुभयो । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो । 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुलचोकबाट गावहाल, मंगलबजार, टंगाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुलचोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथ रोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब १ हजार ६ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ५७ बजे