‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राजेन्द्र पाण्डेको ‘लेटर’ ले माधवको पार्टीभित्र हलचल

काठमाडौं । अस्तित्व बचाउन समेत धौ धौ भैरहेको एकीकृत समाजवादी थप विवादमा भासिएको छ । शनिबार मात्रै तीन सय ४४ सदस्यीय जम्बो केन्द्रीय समिति गठन गरेर जात्रा देखाउँदा समेत पार्टीभित्रको आन्तरिक विवाद साम्य हुनुको साटो झन् उग्र हुन पुगेको छ।

केही समयदेखि भुसको आगो झैं भित्रभित्रै सल्किँदै गरेको विवाद आइतबार दिउँसोबाट भने सतहमै ह्वार्ह्वार्ती बलेको देखिएको हो । पार्टी भित्र सल्किएको आगोमा निवर्तमान उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पत्रले इन्धनको काम गरेको हो । पाण्डेले एक वक्तव्य जारी गर्दै पार्टीभित्र नेतृत्व चयनका क्रममा विवाद रहेको तथ्य उजागर गर्नुभएको हो । 

पार्टीमा तीन सय ४४ जना केन्द्रीय सदस्य बनाउँदा पनि विवाद साम्य हुन नसकेपछि असन्तुष्ट पक्षहरूको नेतृत्व गर्दै पाण्डेले वक्तव्य जारी गर्नुभएको एक केन्द्रीय सदस्यले चक्रपथलाई बताए । त्यसो त एसको पूर्वउपाध्यक्षका हैसियतमा जारी पाण्डे स्वयंको वक्तव्यमा तीन सय ४४ केन्द्रीय समितिले पार्टीको नेतृत्व पूर्ण नभएको र अझै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन पनि हुन नसकेको उल्लेख छ ।

उहाँले वक्तव्यमा कतिपय जिल्लाको नामै लिएर नेतृत्व चयनमा अन्यायमा परिएको र पार्टी अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहट लगायत जिल्लाबाट आवश्यकताभन्दा बढी नेतृत्वमा उल्लेख गर्नुभएको छ ।  

वक्तव्यमा उहाँले भन्नुभएको छ—
पाटीलाई एकताबद्ध बनाउने प्रयत्न गर्दै श्रावण १८ गते ३४४ जना सदस्य रहेको केन्द्रिय कमिटी घोषणा भएको छ । यो घोषणाले पनि पार्टीको नेतृत्व पूर्ण हुन सकेको छैन अझै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको निर्वाचन हुन सकेको छैन । मनाङ, मुस्ताङ जिल्लाले एकजना पनी केन्द्रिय सदस्य पाउन सकेका छैनन् भने नुवाकोट, बागलुङ, पूर्वी नवलपुर, प्यूठान, स्याङ्जा, सोलुखुम्बु, लमजुङ, भारत प्रवास र अन्य प्रवासले पाउनुपर्ने संख्यामा केन्द्रीय सदस्य प्राप्त गरेका छैनन् । काठमाडौं, कास्की, मोरङ, रौतहट जिल्लाले उल्लेख्य संख्या प्राप्त गरेको छ भने एउटा मात्र निर्वाचन क्षेत्र भएका सल्यान, हुम्ला, डडेल्धुरा, दोलखा जिल्लाले जनसंख्याको तुलनामा र अछाम, कैलाली, कञ्चनपुर, धनुषा, ललितपुर आदि जिल्लाले प्राप्त गरेको केन्द्रीय सदस्य पार्टी कामको तुलनामा संख्या असन्तुलित रहेको देखिएको छ ।
पार्टीमा विस्फोट हुन लागेको संकेत गर्दै वक्तव्यमा उहाँ अगाडि भन्नुहुन्छ—
यतिबेला केन्द्रीय कमिटीमा पर्ने पर्ने विद्रोहमा सामेल हुनुभएका पार्टी निर्माणमा जुटिरहनुभएका र पार्टी निर्माणमा ठूलो योगदान दिन सक्ने थुप्रै कमरेडहरूको नाम केन्द्रीय कमिटीमा ल्याउन सकिएको छैन । यसै विषयलाई आधार मानेर असल इमान्दार र योग्य कमरेडहरूले पार्टीमा योगदान गर्ने ईच्छा हुँदाहुँदै पनि आफू केन्द्रीय कमिटीमा आउन नपाउनुभएको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरिरहनुभएको छ । सबै कमरेडहरूलाई धैर्यतापूर्वक पार्टीका बाँकी निर्णयहरू पर्खन र पार्टीमा आफूले दिन सक्ने योगदानलाई नकारात्मक बोली, लेखाइ र भ्रम सिर्जना गर्न सक्ने अभिव्यक्ति नदिन र आफूलाई एउटा असल तथा अनुशासित कम्युनिष्ट योद्धाका रूपमा उभ्याउँदै पार्टी अनुशासनलाई पनि ध्यान दिई धैर्य गरिदिन आग्रह गर्दछु । आज हाम्रा अभिव्यक्तिले पार्टी निर्माणमा समस्या बनायौँ भने भोलि त्यो समस्या हामी आफैँलाई पर्ने हो भन्ने हेक्का राखेर पनी धैर्य धारण गर्न पार्टी केन्द्रको बाँकी निर्णयहरूलाई पर्खेर बस्न जिम्मेवार कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु । 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ५ : ३९ बजे