विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा

लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आइपुगेको छ ।

 विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन संकलन गर्न विभागका निर्देशक मोतीबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली संघ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको टोलीका प्रमुख एवं विभागका निर्देशक श्रीसले जानकारी दिनुभयो । 

 शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी १ सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको छ ।

नयाँ राहदानी बनाउन छ हजारले अनलाइन आवेदन भरेकाले सोही संख्षाको हाराहारीमा दरखास्त संकलन हुने अनुमान गरिएको निर्देशक श्रीसले बताउनुभयो । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उहाँले सेवाग्राहीलाई आग्रहसमेत गर्नुभयो । 

“अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौँ । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौँ”, श्रीसले भन्नुभयो ।

दस दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेका छन् । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी छन् । टोलीले अगस्त ११ तारिख (साउन २७ गते) सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा दिने छ । 

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ४ : ५१ बजे