साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

झापामा कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर रु. ४ लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताउनुभयो । विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो ।

विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनधिकृत रूपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनाबारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उजुरी दिएको सहायक प्रधानाध्यापक मदन अधिकारीले जानकारी दिनुभयो । 

प्रहरीले सोही दिन मल्लिकलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । हाल अभियोग लागेका मल्लिकलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । बैंकबाट चेकबुक निकालेर ल्याउँदा चेकका केही पाना लुकाएर राख्ने गरेका मल्लिकले २०८० साउन ७ गतेयता एक वर्षमा २० पटक कीर्ते हस्ताक्षर गरेर रकम निकाले खुलेको छ । मल्लिकले प्रधानाध्यापक र लेखापाल दुबैको कीर्ते हस्ताक्षर गरेको पाइएको छ ।

मल्लिकले विद्यालयका शिक्षक, विद्यालयसँग कारोबार भएका व्यवसायी र आफ्नै नाममा अनधिकृत रूपमा चेक काट्ने गरेका थिए । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : २२ बजे