सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

पाटन । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु-याइने भएको छ ।

गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रूपमा  रथलाई तानेर जावलाखेल पु-याइनेछ ।  

सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा तथा झाँकीसहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।”

आज दिउँसो ४ बजपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी संस्थान प्रमुख आचार्यले भन्नुभयो,  ‘‘ रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पु-याइएको चार दिनपछि  राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’’ 

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने गरिन्छ । 

यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १ हजार ६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

‘‘भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पु-याउनुपर्ने परम्परा रहिआएको छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ,’’ आचार्यले भन्नुभयो । 

ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनका अनुसार रातो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको जानकारी दिन यस पटकदेखि भोटो देखाएको भोलिपल्ट सप्तपातल पोखरीमा माछा छोडिनेछ ।

‘‘रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि जोडी परेवा उडाएर मत्र्यमण्डलमा र पोखरीमा जोडी माछा छोडेर पालाल जानकारी दिनुपर्छ, भन्ने किम्बदन्ती छ, सप्तपाताल पोखरीको विनाससँगै यो प्रचलन रोकिएको थियो, यसपटक हामीले पोखरीको पुनःनिर्माण गरिसकेका छौँ । अब यो परम्परा पुनः जीवित हुनेछ,’’ उहाँले भन्नुभयो । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : ५२ बजे