साफ यू–१७ च्याम्पियनसिप आजदेखि

हनुमन्ते बाढीः कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण लाखौँको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा गए रातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्नमै उनीहरू व्यस्त रहे । 

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाए भने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिंदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्न मात्र भएका छैनन् त्यहाँ लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटा मात्र बन्द भएका छैनन्, यहाँका विद्यालयहरू बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको  प्रहरी र स्थानीयले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैँजुले जानकारी दिनुभयो । उहाँले रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको बताउनुभयो ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १२ : १७ बजे