साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भोजपुरमा बाढीले १० अर्ब लगानीमा बनिरहेका करिब ५०  मेगावाटका चार जलविद्युत् आयोजना ध्वस्त 

काठमाडौं। गए राति आएको भीषण बाढी र पहिरोमा परी भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिकामा ठूलो क्षति भएको छ। 

भोजपुरको साल्पासिलिछोस्थित थुम्लुङ खोला थुनिएर सुरु भएको बाढीका कारण इर्खुवा खोला उर्लिँदा करोडौंको क्षति भएको हो। सो बाढीले इर्खुवा खोलामा निर्माणाधीन १४ दशमलव ५ मेगावाटको इर्खुवा हाइड्रोपावर पूर्ण रूपमा ध्वस्त भएको छ । 

हाइड्रोपावरको निर्माणस्थलमा रहेका चार मजदुरलाई बाढीले बगाएकोमा एकको शव फेला परेको छ भने एकजना बेपत्ता छन् । दुई मजदुरको जीवितै उद्धार भएको छ । बाढीले जलविद्युत् आयोजना निर्माणमा उपयोग भइरहेका स्काभेटर, क्रसरलगायत निर्माण उपकरण समेत बगाएको छ ।

बाढीले करिब तीन अर्बको  लगानीमा निर्माण भइरहेको आयोजना ध्वस्त देखिए पनि कति क्षति भयो भन्ने विवरण आइनसकेको सञ्चालक रोशन बस्नेतले चक्रपथलाई बताउनुभयो ।  

यस्तै बाढीले १५ मेगावटको तल्लो इर्खुवा जलविद्युत् आयोजनामा ठुलो क्षति भएको  छ । ३ अर्बभन्दा बढी लगानीमा निर्माण भइरहेको यो आयोजनाको पनि करिब ६० प्रतिशत काम सम्पन्न भएको थियो । 

बाढीका कारण ४ दशमलव ३५ मेगावाटको  फेदीथुम्लुङ खोला जलविद्युत् आयोजना, अप्परइर्खुवा १४ दशमलव ५, लोअर इर्खुवा १४ र इर्खुवा बी १५ दशमलव ५ मेगावाट गरी करिब ५० मेगावाट क्षमताका आयोजनामा ठुलो क्षति भएको छ ।  करिब १ अर्बको लगानीमा यो आयोजना निर्माण भइरहेको थियो ।  

काठमाडौंमा रहेका स्थानीय कानुन व्यवसायी सुजन  राईका अनुसार थुम्लुङ खोलाबाट सुरु भएको बाढीले साल्पा सिलिछोका ५ वटा वडा र षडानन्द  नगरपालिकाका दुईवटा वडा अस्तव्यस्त बनाएको छ ।

बाढीले निर्मार्णाधीन नागदह पक्की पुल, निर्माण सम्पन्न हुन लागेको ताबुटार पक्की पुल  र गौडेनी पक्की पुलमा क्षति पु-याएको छ  । त्यसैगरी बागबालुङ, दोभाने, नागदह गोथे बजार र ताबुटारका झोलुङ्गे पुलमा क्षति पु-याएको छ । भीषण वर्षाको बाढीले लङख्वा र नागदह आसपासको बस्तीमा ठुलो क्षति पुगेको बताइएको छ । 

बाढीबाट पीडितकाे उद्धारमा स्थानीय जनप्रतिनिधि तथा  प्रहरी प्रशासन लागिपरेकाे बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ११ : १० बजे