साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सचिव सरुवा : धेरैलाई उल्लास, केहीको छिँडीमुनि बास

काठमाडौं । सरकारले आफ्नो कामकारबाहीलाई सशक्त ढंगले अघि बढाउन स्थायी सरकार मानिने निजामती प्रशासनमा व्यापक फेरबदल गरेको छ । 

सरकार गठन भएको दुई साता पुग्दै गर्दा भएको सचिव सरुवा हेर्दा यो सरुवामा अघिल्लो सरकारको कोपभाजनमा पारेका कतिपय सचिवहरूले महत्त्वपूर्ण जिम्मेवारीका साथ अवसर पाएका छन् भने पदीय दायित्व पूरा गर्न अक्षम देखिएका केही सचिवहरू किनारामा थन्किन पुगेका छन् । 

आइतबार मात्रै  मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारमा करिब ६ घण्टा सबै मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुन्नुभएका प्रधानमन्त्री ओलीले भोलिपल्टै सबै सचिवहरूको सरुवा गरेर प्रशासनमा नयाँ सन्देश दिन खोज्नुभएको देखिन्छ । प्रधानमन्त्रीलाई  ब्रिफिङ गरेपछि सबै सचिवहरू तत् तत् मन्त्रालयमा आफ्नो थमौती हुने कुरामा ढुक्क भई घर गएर सुतेका थिए । भोलिपल्ट बिहान उठ्दा भने उनीहरूको मन्त्रालय परिवर्तन भइसकेको थियो । 

प्रशासनिक क्षेत्रका जानकारहरू  प्रधानमन्त्री केपी शर्मा ओलीको स्पिड अनुसार काम नगरेका सचिवहरूको सरुवा भएको बताउँछन् ।

प्रधानमन्त्री ओलीले सचिव सरुवाको छनकसमेत दिनुभएको थिएन । किनभने आइतबार ब्रिफिङ लिँदा उहाँले मङ्गलवार आफ्ना तर्फबाट निर्देशन दिने मात्र जानकारी गराउनुभएको थियो । ब्रिफिङको २४ घण्टा नबित्दै कतिपय सचिवहरूको रुवावासी गर्नुपर्ने अवस्थामा सरुवा भयो । पुरानै मन्त्रालयमा काम गर्ने निर्देशन सुन्न तम्तयार भएर बसेका सचिवहरूको एका बिहानै कार्यालय जाने बाटो फेरिएपछि उनीहरू आश्चर्यमा परेका थिए । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कतिपय नीतिगत निर्णय गर्न नपाउन् भनेर यसरी सुइँकोसमेत नदिई सरुवा गर्नुभएको हो । अहिले प्रधानमन्त्री ओलीको अर्जुनदृष्टि सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणमा केन्द्रित छ । एक मन्त्रीले चक्रपथसँग भन्नुभयो, ‘त्यसैले सम्बन्धित मन्त्रालयमा समन्वयसहित काम गर्न सक्ने सचिवलाई प्रधानमन्त्रीले खटाउनुभएको हो, मन्त्रालयमा कुन सचिव आउँदै छन् भन्ने जानकारी हामीलाई पनि थिएन ।’ 

अर्थतन्त्र शिथिल भएको अवस्थामा त्यसलाई उकास्ने जिम्मेवारीसहित अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।  

केही समयअघि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमासमेत पर्नुभएका अर्थसचिव मधुकमार मरासिनी उपराष्ट्रपति कार्यालयमा पुग्नुभएको छ । ‘अर्थ सचिवजस्तो शक्तिशाली मन्त्रालयमा बसेर सत्ता भोग गरिरहेका मरासिनीले बहादुर भवनको छिँडीमा कसरी दिन काट्ने हुन्,’ एक कर्मचारीको टिप्पणी छ । 

राजस्व सचिवमा भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

अघिल्लो सरकारले उपराष्ट्रपति कार्यालयमा थन्को लगाइएकी राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीमा फर्किनुभएको छ । सहसचिव हुँदा मन्त्रालयमा काम गरिसक्नुभएकी अर्याल अडान र निर्णयमा अब्बल मानिनुहुन्छ । 

सबैभन्दा धेरै बजेट परिचालन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा जल तथा ऊर्जा आयोगमा रहेका केशवकुमार शर्मालाई फर्काइएको छ । केही समयअघि शर्मालाई भौतिकबाट आयोगमा लखेटिएको थियो । प्रशासनभित्र शर्मा पूर्वाधार विज्ञका रूपमा चिनिनुहुन्छ । 

त्यसैगरी भौतिक पूर्वाधारमा रहनुभएका  सचिव गोपालप्रसाद सिग्देललाई ऊर्जामा लगिएको छ । सिग्देलको कांग्रेससँग ‘फियो’ मिल्ने भएका कारण त्यसो गरिएको बताइएको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । स्वच्छ प्रशासक मानिनुहुने उपाध्यायको शैली र चिन्तन मिल्ने भएकाले अख्तियारमा लगिएको हो । २० पटक मन्त्री हुनुभएका श्रममन्त्री शरतसिंह भण्डारीसँग उहाँको मन मिलिरहेको थिएन । श्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मुकुन्दप्रसाद निरौलालाई लगिएको छ । श्रममन्त्री भण्डारी र सचिव निरौलाबीच पुरानै दोस्ती छ ।

अख्तियारका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा पु¥याइएको छ । सुरक्षा संवेदनशीलता बुझेका दंगाललाई सोझा रक्षामन्त्री मानवीर राईको सेनासँग समन्वयमा सहयोग पुगोस् भनेर त्यहाँ लगिएको हो । 

यसपटकको सरुवामा महत्त्वपूर्ण जिम्मेवारीमा मधुसुदन बुर्लाकोटीले बाजी मार्नुभएको छ । वित्त आयोगमा क्षमता अनुसारको काम नपाउनुभएका बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको (वाणिज्य) सचिव बनाइएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा हुत्ताइनुभएको छ  । कोटेश्वरतिर बस्ने एक माओवादी नेता दम्पतीको संरक्षण पाउनुभएका दुवाडीलाई त्यही कुरा बुझेर तथ्याङ्क कार्यालयको जिम्मेवारी दिएर फुर्सदिलो बनाइएको स्रोत बताउँछ । दुवाडीले सोझा एमाले मन्त्री बलराम अधिकारीलाई रोटीजस्तै फनफनी घुमाउने गरेको चर्चा  मन्त्रालयमा हुने गरेको थियो । 

तथ्याङ्कका प्रमुख अधिकारी अर्जुनप्रसाद पोखरेलले भूमि व्यवस्था मन्त्रालयमा जिम्मेवारी पाउनुभएको छ  । त्यसोत यसपटकको सरुवामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफ्नो व्यवहार अनुसारको जिम्मेवारी पाएको चर्चा  छ । राम्रै प्रशासक मानिनुहुने सुवेदी पछिल्लो समय माओवादी कार्यकर्ता जस्तै बनेको आरोपसमेत लाग्ने गरेको छ । 

सञ्चार सचिवमा आएपछि सुवेदीले निवर्तमान मन्त्री रेखा शर्माको इसारामा पदीय मर्यादा विपरीतसमेत काम गरेको गुनासो बढेको थियो । सुवेदी अहिले सिंहदरबारको सानसौकातबाट ताहाचलको कुनामा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुग्नुभएको छ ।  

उता सार्वजनिक खरिदमा रहनुभएका भरत सुवेदीले सङ्घीय मामिलामा छलाङ मार्नुभएको छ । सुवेदीले केही समयअघि सामाजिक सञ्जालमा छाइरहने तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले तयार पारेको ३५ फाइलमा हस्ताक्षर गर्न नमानेपछि कोपभजनमा परेर खेदिनुभएको थियो । 

यो सरुवामा अर्की सचिव प्रमिलादेवी बज्राचार्यले समेत न्याय पाएकी छन् । नेपाल ट्रस्टमा रहेकी बज्राचार्यले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने खानेपानीका सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा पुगेका छन् । 

यो पटकको सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयमा, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मालाई लोक सेवा आयोगमा, आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साह नेपाल ट्रस्टमा र फाजिलमा रहेका सरजु वैद्य सतर्कता केन्द्र पुग्नुभएको छ । 

प्रधानमन्त्री कार्यालय मातहत रहेको सतर्कता केन्द्र सुशासन कायम गर्ने महत्त्वपूर्ण निकाय भए पनि त्यहाँ जानुलाई सचिवहरू ‘कालापानीको यात्रा’ गर्नु सरह ठान्छन् । जुन देशमा सुशासन गर्ने अड्डालाई हेलाहोचो गरिन्छ त्यस देशको प्रशासन कस्तो छ  र प्रशासक कुन चिन्तनका हुन्छन् भन्ने तस्बिरसमेत छर्लङ्ङ हुन्छ । 

जसको सरुवा भएन ​​​​​​​

​​​​​​​​​​​​​​यो पटकको सरुवामा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र उद्योग सचिव कृष्णबहादुर राउत सरुवामा पर्नुभएको छैन । महिला मन्त्रालयका सचिव दिनेश भट्टराई, भावी मुख्यसचिवका रूपमा परिचित गृहसचिव एक नारायण अर्याल, युवा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, शिक्षा सचिव डा. दिपक काफ्ले र विश्वबन्धु सुवेदी, स्वास्थ्य मन्त्रालयका सचिवहरू डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली, राष्ट्रिय योजना आयोगका सचिव तोयानाथ ज्ञवाली यो पटकको सरुवामा यथास्थानमै रहन सफल हुनुभएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १ : ३६ बजे