सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

‘बाघ संरक्षण प्रकृतिको रक्षा र आर्थिक समृद्धिको अभिन्न अङ्ग हो’- पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ । 

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना दिँदै पूर्व राष्ट्रपति भण्डारीले प्रकृति संरक्षणको लागि बाघको महत्व रहेको तर यसमा चुनौतीसमेत रहेको उल्लेख गर्नु भएको हो । जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रूपमा मनाउने गरिएको छ । 

नेपालमा बाघ संरक्षणको काम प्रभावकारी भएको र अन्तर्राष्ट्रिय जगतलेसमेत नेपालको योगदानलाई उच्च मूल्याङ्कन गरेको यथार्थ उल्लेख गर्दै उहाँले नेपालमा बाघको दोब्बर सङ्ख्या बनाउन योगदान दिने कर्मचारी, स्थानीय समुदाय, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिनुभएको छ । यसअघि बाघ पाइने देशहरूले रुसको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। नेपालमा यो लक्ष्य पूरा भएको छ । 

विश्वभर बाघको सङ्ख्या घटिरहेको सन्दर्भमा यसको संरक्षणका लागि बाघको सङ्ख्या बढ्नु सुखद् अवस्था हो । तर, बाघहरू बढिरहँदा त्यसलाई चाहिने बासस्थान र आहाराजस्ता विषयका कारण मानिस र बाघबीच द्वन्द्वका घटनाहरू बढिरहेका छन् । 

 'बाघको सङ्ख्या बढेसँगै केही चुनौती पनि अवश्य थपिएका छन्', पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ- 'बाघ संरक्षण गर्दा आउदा दिनमा गुणस्तरयुक्त बासस्थान व्यवस्थापन, आहारा प्रजातिको बन्दोबस्ती, बाघ संरक्षणमा स्थानीय समुदायको अर्थपूर्ण संलग्नता र उनीहरूको जीविकोपार्जनका अवसरहरूको खोजी, चोरी शिकारविरुद्ध प्रभावकारी कानुन कार्यान्वयन र बाघ तथा मानवबीच हुन सक्ने द्वन्द्वको व्यवस्थापन हाम्रो कार्यदिशा हुनुपर्दछ।' 

नेपालमा सन् २००९ मा एक सय २१ ओटा बाघ गणना गरिएको थियो । सन् २०२२ मा पुग्दा नेपालका वनजङ्गलमा बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ। नेपालले सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य राखेको थियो। लक्ष्य पूरा भैरहँदा अब बाघ संरक्षण गर्दा जलवायु परिवर्तनका असर र प्रभावको बारेमा समेत अध्ययन तथा अनुसन्धान गर्ने र प्रविधिको विकास र विस्तारमार्फत कार्यक्षेत्रमा काम गर्ने कर्मचारीको क्षमता विकास गर्नु पर्नेमासमेत पूर्व राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ । 

नेपालमा आउने कुल विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी प्रकृतिमा आधारित पर्यटकीय क्षेत्र घुम्न जाने गरेका छन्। त्यसमा पनि बाघ हेर्नका लागि आउनेको संख्या उल्लेख्य छ । 

बाघ संरक्षण एउटा दायित्व मात्र नभई पर्यटनलगायतको क्षेत्रका लागि अवसर समेत भएको भन्दै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, 'बाघ संरक्षणलाई एउटा सुनौलो अवसरको रूपमा रुपान्तरण गर्नका लागि निजी क्षेत्र र स्थानीय समुदायको सहकार्यमा बाघ र प्रकृतिमा आधारित पर्यटनलाई विशेष प्रथामिकता दिनुपर्ने हुन्छ। बाघ संरक्षणलाई केवल प्रकृति संरक्षणको रूपमा मात्र नलिई समग्र आर्थिक समृद्धिको अभिन्न अङ्गको रूपमा लिनुपर्ने हुन्छ।'

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ४७ बजे