धरहराबाट उपत्यका नियाल्ने रहर

सहकारी ठगी गरी फरार भएकाहरुलाई पक्राउ गर्ने काम गर्दैछौं- गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने बताउनुभएकाे छ ।

सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘सहकारीको समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गर्नुभयाे । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

यस्तै छानबिन समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धी मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएकाे थियाे ।
गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिनुभयाे ।

यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरुको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताउनुभएकाे थियाे ।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्त कुँवर पनि सहभागी हुनुहुन्थ्याे ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ४८ बजे