सुनको मूल्यमा नयाँ कीर्तिमान

अस्पतालमा बन्धक बनाइएकी महिलाको सुत्केरीको खर्च प्रधानमन्त्रीपत्नी शाक्यले बेहोर्नुभयो

काठमाडौं । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनाइएकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर जानुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च बेहोर्दै शुक्रबार नै उहाँलाई डिस्चार्ज गराउनु भएको हो ।

उपचार खर्च तिर्न नसकेर खातुन चार दिनदेखि बन्धक बन्नुपरेको थियो । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना हुनुभएको थियो । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चवापत रु एक लाख १० हजार बुझाउन नसक्दा उहाँ चार दिनदेखि बन्धक बन्नुपरेको थियो । 
प्रधानमन्त्री पत्नी शाक्यले बिहीबार नै प्रहरीको सहयोगमा अस्पतालको सवै उपचार खर्च आफूले बेहोर्ने जानकारी गराई खातुन र बच्चालाई मुक्त गराउनु भएको हो ।

यसअघि उपचार खर्च तिर्न नसकेको भन्दै अस्पताल प्रशासनले खातुनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको थियो । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न नसकेको र सुत्केरी अस्पतालमै बन्धक बनेका समाचार पढेपछि शाक्यले खातुनको सवै उपचार खर्च बेहोर्नुभएको हो । शाक्यले भोलिसम्ममा अस्पतालको रकम जम्मा गरिदिने बताउनु भएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ०२ बजे