‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिमकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापा बर्खास्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ । मन्त्री थापाले सरकारको नीति विपरीत काम गर्नुभएको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उहाँलाई बर्खासत गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिनुभयो । 

जोशीले भन्नुभयो, “प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो ।”

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गर्नुभएको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित हुनुभएको थियो । बर्खास्तमा पर्नुभएकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी(एमाले) बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा हुनुहुन्छ । उहाँले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । 

प्रदेशसभाको आजको दोस्रो बैठकको विषेश समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विषेश समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राख्नुभएको थियो । 
 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : २७ बजे