दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बार्दलीबाट ओमले छोरालाई गरेको त्यो अन्तिम ‘बाई’

भक्तपुर । कमेराटारको घर । पीडा र विरहको भाव फैलिएको यो घर हो –  दिवंगत को–पाइलट सुशान्तकटुवालको ।गत साउन ९ मा भएको सौर्य एयरको जहाज दुर्घटना परी सुशान्तसहित १८ जनाको निधन भयो । यो घटनाले सारा मुलुकलाई रुवायो । तर, कमेराटारमा रहेको उहाँको घरमा भने दुर्घटनाका दिन देखि बग्न थालेको आँसु अझै रोकिएको छैन । 

सुशान्तको कोठामा आइरन लगाएर मिलाएर राखिएको सेतो सर्ट ‘हजुर’ भनेर बोल्छ कि जस्तो थियो । अनि बेड नजिकैको भित्तामा झुण्ड्याइएको थियो, सौर्य एयरको उडान तालिका ।  जसको अन्तिम लाइनमा जुलाई २४ मा काठमाडौं–पोखराको उडान १०ः४५ बजे लेखिएको थियो । 

कटुवाल परिवारका एक सदस्यले बताए अनुसारसुशान्तले  हरेक महिनाको उडान तालिका बेडरुमको भित्तामा टाँस्नुहुन्थ्यो । २४ जुलाई पछिको तालिका थिएन । त्यस दिन जहाजलाई पोखरामा पूर्ण परीक्षणका लागि लगिए पछि कति समय लाग्ने हो त्यसको टुङ्गो थिएन । तर दुःखद् संयोग, सौर्य एयरको सो जहाजको अब कुनै उडान तालिका बन्ने छैन, न त सुशान्तको कोठामा अब कुनै तालिका नै टाँसिनेछ । सो दिन जहाज उडेको २५ सेकेन्डमा नै दुर्घटनामा परी जहाज पनि ध्वस्त भयो र सुशान्तसहित १८ जनाको निधन भयो । 

कोठामा आधा दर्जन सुटकेश टुहुरा जस्ता देखिन्थे । यसै पुस्तकहरुले सज्जिएको सुशान्तको निजी अध्ययन कक्ष झनै विचलित देखियो । चक्रपथको टिम बिहीबार कटुवाल निवास पुग्दा देखिएको कारुणिक दृश्य हो यो । 

चरम दुःख परेको यस घरमा बोल्ने चाह कसैमा देखिएन । मानिसको चहलपहल बाक्लो थियो । तर, त्यहाँ बोल्ने कुरा थिएन, सहानुभूतिका शब्दहरु पर्याप्त थिएनन् । गत बुधबार देखि नै यहाँको माहोल यस्तै रहेको परिवारका सदस्यले बताउनुभयो । 

दुर्घटनामा परी सुशान्तको निधन भएपछि कटुवाल परिवारलाई  धेरैले सहानुभूति दिए । ‘यस्तै रहेछ, सबै भोग्नु नै पर्ने रहेछ’, भन्ने शब्दहरु आए, तर उहाँलाई यसले सान्त्वना दिन सकेन । कटुवाल परिवारमा परेको यो घाउलाई यी र यस्ता शब्दको मल्हमले निको पार्न सकेन । 

ओमबहादुर कटुवाल, दिवंगत सुशान्तका ६४ वर्षीय पिता हुनुहुन्छ । उहाँको आँखा अझै ओभाएका छैनन् । आमा रञ्जना कटुवाल दुई दिनदेखि अर्धचेत अवस्थामा हुनुहुन्छ । 

ओमबहादुरको स्मृतिमा सुशान्त सानो हुँदा बेलाका दृश्यहरु अझै आइरहेको छ, परिवारका अन्य सदस्यलाई सम्झाउनु पर्ने दायित्व भए पनि उहाँ आफैलाई सम्हाल्न नसक्ने स्थितिमा हुनुहुन्छ । बोली फुटेदेखि नै ‘बाबु, पछि तिमी ठूलो भएर के बन्ने?’ भन्दा जवाफमा ‘पाइलट बन्छु’ भन्ने सुशान्तको बोली र त्यो दृश्य ओमबहादुरको आँखै अगाडि आइपुग्छ । अझ आकाशका जहाज उडेको आवाज सुन्नासाथ बाहिर निस्केर ‘बाई बाई’ गर्ने गरेको र चित्र बनाउँदा पनि सधैँ जहाजको चित्र बनाउने बानी ओमबहादुरले कसरी भुल्ने ? 

पिता ओमबहादुरका अनुसार ओखलढुंगा च्यानमका कटुवाल परिवारबाट सुशान्त  पहिलो पाइलट बन्ने योजनामा हुनुहुन्थ्यो । केही समयमा यो सपना पनि पूरा हुँदैथ्यो । तर, दैवको नियती, बुधबारको दुर्घटनाले कटुवाल परिवारको सपना मात्रै चुँडेन, यस परिवारलाई कहिल्यै नपुरिने घाउ दिएर गयो । 

कटुवाल परिवारका एक्लो सन्तान हुनुहुन्थ्यो,सुशान्त । पिता ओमबहादुर भने रिटार्यर्ड उपसचिव हुनुहन्छ । ओखलढुंगाबाट विराटनगर बसाई सरेर उहाँहरु अब भने कमेराटारमा स्थायी बसोबासको तयारीमा रहनुभएको उहाँका आफन्त अधिवक्ता रामजनक कटुवालले बताउनु भयो । 

थुप्रै सपना सजाएर नयाँ क्षेत्रलाई स्थायी बसोबास बनाउने चाहना भए पनि बुधबारको त्यो क्षणले कटुवाल परिवारलाई ठूलो आघात भयो । त्यो कालो दिन सम्झँदै ओमबहादुरले चक्रपथसँगको छोटो कुराकानीमा भन्नुभयो, ‘छोराले तलबाट बाईबाई बाबा भन्यो, मैले हात हल्लाएँ, त्यो नै हाम्रो अन्तिम देखादेख हो ।’

बुधबार बिहान करिव नौ बजे सुशान्तआफ्नो निवासबाट निस्कनु भएको थियो । सधैँ झैँ हतारमा निस्किँदै गरेको क्षणमात्र ओमबहादुरको स्मृतिमा आइरहन्छ ।

त्यसो त सुशान्तको जर्मनीको भिसा लागिसकेको थियो । त्यस दिन पोखरा जानु नपरेको भए सायद उहाँ यतिबेला विदेशमा पुगेर अन्य काम गरिरहनु भएको हुन्थ्यो । तर, त्यही दिन उहाँ पोखरा जानै पर्ने भयो र त्यो अकल्पनीय दुर्घटनाले उहाँका सारा योजनालाई सँगै लिएर गयो । 

‘त्यो दिन बिहान मेरो मोबाइलको घण्टी बज्यो, बाबुको जहाज त दुर्घटनामा प¥यो भनेर । म त बेहोस जस्तै भएँ । अहिले पनि त्यो फोन कसले गरेको भनेर हेर्न सकेको छैन’, पिता ओमबहादुरले घटनाको दिनबारे बताउँदा उहाँको गला अवरुद्ध भयो, ‘….. त्यसपछि म शिक्षण अस्पतल पुंगे, त्यसपछि …….। 

पिता ओमबहादुरको काँधमा आफूलाई र परिवारलाई सम्हाल्ने जिम्मेवारी आइपरेको छ । ‘मेरो त त्यही एउटा थियो, अब त मन ठोकाउने र व्यथा अड्काउने ठाउँ समेत रहेन,’ पीडा मिश्रित स्वरमा उहाँले भन्नुभयो । 

यता, ओमबहादुरकी ८५ आमाको रोदन झनै हृदय विदारक छ । दुर्घटनाको खबर सुने देखि बलिन्द्र आँसुको धारा बगाउनु भएकी सुशान्तकी हजुरआमाले नियतिसँग गुनासो गर्दै भन्नुभयो, ‘काललाई पनि हाम्रो परिवारको कोही चाहिएको भए ,मलाई नै लगेको भए हुन्थ्यो । मेरो तामाको मुना जस्तो नातिलाई किन लगेको?’
 
दुर्घटनाले दिएको घाउ एकातिर छ, अर्को सद्गत गर्न नपाउनुको पीडा उस्तै छ । यतिबेला दुर्घटनामा परेकाहरुको शव पोस्टमार्टम गरेर मात्रै परिवारलाई दिने भनेकाले सुशान्तको अन्तिम कर्म गर्न नपाइएको आफन्तको गुनासो छ । ‘दुई दिन बित्दा पनि पोस्टमार्टम हुन नसक्ने कस्तो सिस्टम हो यो?’, सुशान्तका मामा रमेश खड्का आक्रोश पोख्नुहुन्छ । 
  

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ५० बजे