विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लुम्बिनीमा कांग्रेस-एमालेले टुंगाए मन्त्रीको नाम, आजै शपथ

बुटवल । ​​​​​​​ लुम्बिनी प्रदेशमा सोमबार नियुक्त हुनुभएका मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले कांग्रेसका १० मन्त्रीहरूको शपथ ग्रहण आज बिहान हुने भएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधवारलाई शपथको समय सारिएको हो । मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुङ्गो लगाएका हुन् ।  

एमालेबाट मन्त्रीमा नाम सिफारिस हुनुहुनेहरुमा रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा हुनुहुन्छ । यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी हुनुहुन्छ ।  ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी विकास मन्त्री  र पन्थी आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो ।

त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुनुहुन्छ ।

यसैगरी नेपाली काङ्ग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनुहुनेछ । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्युठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको मन्त्रीमा सिफारिस रोज राणाले जानकारी दिनुभयो ।  कांग्रेसले प्रमुख सचेतक रहनुभएका तिमिल्सिनाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको हो ।

दुवै दलले मन्त्री छान्न ढिलाइ गरेकाले आज बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । काङ्ग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राणा मात्रै यसअघि मन्त्री बन्नुभएको हो भने अरू सबै नयाँ हुनुहुन्छ ।  

लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बन्नुभएको थियो । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपाल, राप्रपाले सरकारलाई समर्थन गर्ने मौखिक सहमति जनाएपनि अहिलेसम्म सहभागी छैनन् तर उनीहरूका लागि २ मन्त्रालय खाली राखिएको छ । ८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा र स्वतन्त्रका एक एक गरी १३ सांसद मात्रै विपक्षमा रहने भएका छन् ।  

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ९ : ०९ बजे