साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल

काठमाडौं । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलंकाको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गएराति सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो ।

नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।

गएरातिको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् ।

त्यस्तै, विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन् भने अरुणदति रेडि र राधा यादवले समान दुई/दुई विकेट लिए ।

यस्तै, रेनुका सिंहले एक विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो ।

भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् ।

त्यस्तै, अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् ।

नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ६ : ५५ बजे