दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

बरहथवा । सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का छ । 

घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । “फरसा भन्ने घरेलु हतियार घटनास्थल नजिकैबाट फेला परेको छ”, उहाँले भन्नुभयो, “यस विषयमा अनुसन्धान गरिरहेका छौँ । सोही हतियार घटनामा प्रयोग भएको आशङ्का छ ।”

मलङ्गवा नगरपालिका–४, पुख्र्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रामचन्द्र रायको चन्द्रनगर गाउँपालिका–१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो । उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो । 

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उहाँ बसेकै स्थानमा आएका थिए । उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ । रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशङ्का छ । घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो । 

राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँको दुई छोरा र पाँच छोरी हुनुहुन्छ । परिवारसँगै काठमाडौँ बस्दै आउनुभएका उहाँ केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आउनुभएको परिवारले जनाएको छ । रायको चन्द्रनगर गाउँपालिका–१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उहाँ खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । 
 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ८ : ४० बजे