दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साउन महिनामै किन लगाइन्छ हरियो चुरा,पोते र मेहेन्दी ?

काठमाडौँ । साउने सङ्क्रान्ति पर्व सुरु भएसँगै नेपाली महिलाहरू यत्तिखेर मेहेन्दी र हरियो चुरामा सजिन थालेका छन् ।

साउन महिना प्राकृतिक रूपमै पनि हरियो महिना हो । वनजंगल, खेतबारी जताततै हरियाली देखिने यो मौसममा नेपाली महिला तथा युवतीहरू पनि हरियो रङसँग अन्तरघुलित भइरहेको देख्न पाइन्छ ।  

विशेषगरी विवाहित महिलाहरू सौभाग्यको प्रतीकको रूपमा आफूहरूले हरियो चुरा र मेहन्दी लगाउने गरेको बताउनुहुन्छ । अविवाहित युवतीहरू पनि  राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो चुरा र मेहन्दी लगाउने गरेको बताउनुहुन्छ । साउन महिनामा लगाइने हरिया लुगा र चुराहरूले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन सहयोग गरेको धेरेको बुझाइछ ।

साउन महिना सुरु भएसँगै काठमाडौँका विभिन्न शृङ्गार पसलहरूमा  हरियो पहेँलो चुरा पोते  र मेहेन्दीको व्यापारसमेत बढेको  छ । पसल र चोकहरूमा यति बेला महिलाहरू हरियो चुरा र मेहेन्दीका सामग्री खरिदका लागि व्यस्त देखिन्छन् । अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा,मेहेन्दी शृङ्गारका सामानहरू राम्रो बिक्री हुने गरेको बिक्रेताहरुकोसमेत भनाई छ । 

काठमाडौँ  कपनमा शृङ्गार पसल सञ्चालन गर्दै आउनुभएकी सरिता खनालले श्रावण १ गते मात्र १० हजारको चुरा पोतेको व्यापार गर्नुभएको बताउनुभयो । वर्षभर खासै व्यापार नभए पनि साउन महिनाको सुरु कै दिन राम्रै व्यापार  भएको उहाँले बताउनुभयो ।

सिन्धुली घर भएकी कुमारी थापाको पनि काठमाडौँको कपनमै कस्मेटिक पसल छ । हरियो चुरा, मेहेन्दी,  पोते र कस्मेटिकको व्यापार गर्नुको साथै सामान खरिद गर्न आउने ग्राहाकहरुलाई हातमा मेहेन्दी समेत लगाइदिने गरेको उहाँले साउन महिना राम्रो आम्दानी हुने महिना भएको अनुभव सुनाउनुभयो । 

अघिपछि खासै व्यापार नभए पनि साउन महिनामा भने सामान बिक्री र मेहन्दी लगाउनेहरूको भीड नै लाग्ने गरेको उहाँले सुनाउनुभयो । ‘साथीसँगका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरूले पनि रहर गर्ने नै भए यत्तिखेर त म जस्ता सीप जान्नेहरूलाई एक छिन पनि फुर्सदै हुन्न ।’उहाँले भन्नुभयो । ‘अहिले त झन् फेन्सी डिजाइनको रङ्गिन चुरा र पोते आएको छ, राख्न नपाउँदै बिक्री भइहाल्छ’ उहाँले भन्नुभयो ।

कपन बुढानीलकण्ठ नगरपालिका–१० की शान्ता केसी साउन महिनाभरि नै पर्वको रूपमा मनाउने गरेको बताउनुहुन्छ । साउनको सोमबार व्रत बस्ने  गरेको बताउनुहुने उहाँ यो महिनाभर दुवै हातमा हरियो र पहेँलो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएर पहेँलो मिश्रित धोतीमा सजिन पाउँदा बेग्लै खुसी मिल्ने गरेको बताउनुहुन्छ । 

 हत्केलामा बुट्टेदार मेहेन्दीसमेत  लगाउनुभएको उहाँ  साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङका पहिरन, हातमा मेहेन्दी र चुरा लगाउनु अनि  सोमबार शिवजीको व्रत बस्दा श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने विश्वास रहेको बताउनुभयो । 

हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने धेरै फैलिएको उहाँले बताउनुभयो  ।

कतिपयले भने चाहिँ साउन महिनामा लगाइने चुरा मेहन्दी र हरियो कपडालाई अनावश्यक तडकभडकका रूपमा लिने गर्दछन् ।

काभ्रे पाँचखाल घर भई हाल कपन बस्दै आउनुभएकी सरस्वती मैनालीले आजभोलि मानिसहरू अनावश्यक देखासेखीकै लागि यो सब गरिरहेको बताउनुभयो । ‘खै हाम्रो पालमा मेहेन्दी लगाउने चलन पनि थिएन । आँगन र बारी जताततै पाइने तिउरे फूलका पात हातमा दल्थ्यौँ  । अहिले तिउरीको ठाउँमा मेहेन्दी छाएको छ, यो सबै फजुल खर्च जस्तै पो देख्छु ।’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ०७ बजे