काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौँस्थित अमेरिकी राजदूतावासमा गैर संसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
उजुरीमा उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गरिएको छ । समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको जानकारी दिँदै यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उनले उपसभामुख राना मगरसमेत उपस्थित भएको संसद्को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे । उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएपछि उनी विवादमा परेकी छन् ।
संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्ट्याटस अफ वुमेनको ६७औँ सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई भिसाको अन्तर्वार्ता मिति छिटो दिन काठमाडौँस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष नेतृत्वले गत वैशाखमै थाह पाएर पनि सामसुम पारिएको खुलासा भएको छ ।
प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार १२ : ३५ बजे
प्रतिक्रिया