सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पद धरापमा परे पछि उपसभामुखको बचाउ विज्ञप्ति

काठमाडौँ । अमेरिका भिसाको लागि पदको दुरूपयोग गरेको गम्भीर आरोप लागे पछि उपसभामुख इन्दिरा राना मगरले आफ्नो बचाउमा विज्ञप्ति जारी गर्नुभएको छ । 

उपसभामुख जस्तो गरिमामय पदमा बसेर पनि मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्न देखिए पछि यसबारे राज्यले अनुसन्धान गर्नु पर्ने देखि महाभियोग लगाएर पदबाट हटाउनु पर्नेसम्मको चर्चा चले पछि उहाँको बचाउ विज्ञप्ति आएको हो। 

करिब डेढ वर्ष अघि आफूबाहेक अन्य ६ जनाका लागि भिसा दिन सिफारिस गर्दै अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भए सँगै उपसभामुख रानाको चौतर्फी आलोचना भैरहेको छ। 

यसक्रममा उहाँले आफूबाट कुनै अनैतिक कार्य नभएको दाबी गर्नुभएको छ । उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र अमेरिकामा आयोजित कार्यक्रममा जानका लागि आएको निमन्त्रणलाई स्वीकार गरेर आफू कार्यक्रममा सहभागी भएको उहाँको भनाई छ । 

सोही कार्यक्रममा सहभागी हुन अन्य केहीलाई पनि निमन्त्रणा आएको र अन्तर्वार्ताका लागि मिति दिनका लागि मात्र आफूले सिफारिस गरेको उहाँको दाबी छ । 

उहाँले यस कार्यलाई करूणाभावको संज्ञा दिँदै डेढ वर्षपछि यो विषय विवादित हुनुलाई आफूविरुद्धको नियोजित कदमको रूपमा व्याख्या गर्नुभएको छ । 

भिसा दिन आफूले दबाब नदिएको र यसका लागि दूतावासको निर्णय हुने तर्क पेस गर्दै उहाँले भन्नुभएको छ, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिक कार्य मबाट भएको छैन र हुनेछैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : २८ बजे